भीमदत्तनगर, २० मङ्सिर । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नेपाल र भारतका वन अधिकारीबीच भारतको उत्तराञ्चलको पिठौरागढमा छलफल भएको छ ।
कैलाश पवित्र भूपरिधि कार्यक्रमअन्तर्गत नेपाल–भारत वन मन्त्रालय, वन विभाग, संरक्षण विभाग क्षेत्रीय तथा जिल्ला वन अधिकारीबीच वन्यजन्तु संरक्षण तथा वन्यजन्तुबाट मानिसलाई हुने हानिनोक्सानी न्यूनीकरणका विषयमा गत बिहीबारदेखि शनिबारसम्म तीन दिन छलफल भएको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका प्रमुख रमेश चन्दले जानकारी दिनुभयो ।
छलफलमा दुवै देशका वन अधिकारी आवश्यक समन्वयका लागि सहमत भएको उहाँले बताउनुभयो । “कैलाश पर्वतीय क्षेत्रको बृहत्तर विकास एवम् संरक्षण, विस्तारलगायत समग्र विषयमा पनि छलफल भएको थियो”– वन निर्देशनालयका क्षेत्रीय निर्देशक चन्दले भन्नुभयो, “यसबाट दुवै देशलाई मानव–वन्यजन्तु द्वन्द्व घटाउन टेवा पुग्ने छ ।”
उहाँले कैलाश पवित्र भूपरिधि कार्यक्रम सुदूरपश्चिमको दार्चुला, बझाङ, बैतडी र मध्यपश्चिमको हुम्लामा मात्रै लागू भएको जानकारीसमेत दिनुभयो ।
छलफलमा नेपालका तर्फबाट वन तथा भूसंरक्षण मन्त्रालय, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय, दार्चुला र बैतडीका जिल्ला वन तथा भन्सार कार्यालयका प्रमुखलगायत सम्बन्धित अन्य निकायको सहभागिता थियो ।
त्यस्तै भारतीय पक्षबाट वन्यजन्तु विशेषज्ञ, वन विभागका अधिकारी तथा वन्यजन्तु क्षेत्रमा काम गर्ने प्रमुखको सहभागिता रहेको क्षेत्रीय वन निर्देशक चन्दले बताउनुभयो । रासस
No comments:
Post a Comment