काँकडभिट्टा (झापा), १७ पुस । माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टाले सन् २०१५ मा बेचबिखनमा परेका ३० महिलाको उद्धार गरेको छ ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार एक वर्षका अवधिमा भारतको कोलकाता, दिल्ली, चेन्नइ, आसाम, बागडुग्रा, सिलगढी र बङ्गलादेशबाट ती महिलालाई उद्धार गरिएको हो ।
सोही अवधिमा माइती नेपालले पूर्वीनाका काँकडभिट्टा हुँदै भारत तथा तेस्रो मुलुक हिँडेका २९५ महिलालाई सम्झाइबुझाई घर फर्काइएको जनाएको छ । उद्धार गरिएका अधिकांश महिला भूकम्प प्रभावित क्षेत्र मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र पूर्वी पहाडी जिल्लाका छन् ।
सोही अवधिमा कार्यालयमा १४८ महिला हराएको निवेदन परेको छ । कार्यालयका अनुसार बेचबिखनविरुद्ध पाँच, बलात्कारसम्बन्धी पाँच र घरेलुहिंसासम्बन्धी छ मुद्दा समेत दर्ता भएका छन् ।
संयोजक घिमिरेले सो नाकाबाट वैदेशिक रोजगारका लागि खाडी मुलुक लगायत अन्य देशमा हिँडेका २१ हजार ३२० महिलालाई परामर्श दिएर सुरक्षित स्थानागमन गराएको बताउनुभयो ।
चेलीबेटी बेचबिखन रोकथामका लागि माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टाले वर्षभरि नै चेतनामूलक नाटक तथा विविध कार्यक्रम गर्दै आएको छ । रासस
No comments:
Post a Comment