Friday, January 1, 2016

राजनीति आयआर्जनको बाटो होइनःप्रम

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामले टिप्पणी र आलोचना समाप्त भएर जाने भन्दै आत्मविश्वासका साथ काम गर्न राज्यमन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

यही पुस ९ गते नियुक्त राज्यमन्त्रीलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथपछि निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राम्रा काम गर्दै गए परिणाम पनि प्राप्त हँुदै जाने र देशलाई अघि बढाउन सकिने बताउनुभयो ।

मन्त्रिमण्डल ठूलो भयो भनेर आउने गरेका टीकाटिप्पणीका सम्बन्धमा प्रधानमन्त्री ओलीले यसमा एकथरिले चुस्त मन्त्रिमण्डलले छिटोछरितो काम गरोस् भन्ने भावनाले आलोचना गरेको र अर्काेथरिले जे गर्दा पनि निहुँ खोज्ने मनशाय राखेर आलोचना गरेको बताउनुभयो ।

अहिलेको परिस्थितिमा सामान्य अवस्थाका भन्दा फरक काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले समयमै कानुन नबन्दा भूकम्पबाट जनता प्रताडित भएको र ढिलाइ किन भयो भन्ने सबैलाई जानकारी भएको धारणा राख्नुभयो ।

इन्धन आपूर्ति र ढुवानीको समस्याले गर्दा पनि भूकम्पपछिको पुनःनिर्माण भएको अवगत गराउँदै उहाँले यसमा तीव्रता ल्याउन र कामलाई छिटो अगाडि बढाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

स्वच्छता, पारदर्शिता र निष्ठाका साथ काम गरे मात्र सफल भइन्छ भन्दै उहाँले भन्नुभयो, “राजनीति आयआर्जनको बाटो होइन, माध्यम पनि होइन, राजनीति देश र जनताको सेवा एवम् कल्याणमा समर्पित हुनुपर्छ ।”

विश्व राजनीतिमा सफल भएका सबै व्यक्ति पैसाले नभई निष्ठाका साथ देश र जनताप्रति उन्नत र अग्रगामी विचारका साथ क्रियाशील भएर नै हो भन्ने धारणा राख्दै उहाँले भन्नुभयो, “हामीले त्यही स्वच्छता, पारदर्शिता, जनता र देशप्रति बफादारीको बाटो नै समाउनुपर्छ, तपार्इंहरुले पनि त्यही बाटो समाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले आत्मनियन्त्रित, आत्मअनुशासित, आफ्नै इमान र नैतिकताबाट नियन्त्रित र निर्देशित हुनुपर्नेमा जोड दिँदै खास परिस्थितिमा देश विकासका लागि खास काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले देश र जनताको अपेक्षानुसार आफूमाथिका मन्त्री र मन्त्रालयको प्रशासनसँग उपयुक्त सम्बन्ध राखेर परिपक्वताका साथ काम गर्न निर्देशन दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts