काठमाडौँ, १६ माघ । वर्तमान सरकारले सहिदको सपना पूरा गर्नेतर्फ कुनै कदम नचालेको भन्दै बुद्धिजीवी, अधिकारकर्मी तथा सहिदका परिवारले गुनासो गरेका छन् ।
रिपोटर्स क्लबमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा इतिहासविद डा सुरेन्द्र केसीले सहिदप्रतिको सरकारको निरन्तर बेवास्ताका कारण सहिदले आफ्नो प्राणको आहुति दिएर गल्ती गरेको भनेर सहिदका परिवारजनले व्यक्त गर्नु निकै दुःखद र मार्मिक भएको भन्दै त्यसमा सरकार गम्भीर हुुनुपर्ने बताउनुभयोे ।
उद्योग राज्यमन्त्री मेघनाथ नेपालीले वर्तमान सरकारले सहिदको सपना साकार पार्न उच्च प्राथमिकता दिएको बताउँदै सहिद परिवारलाई व्यवस्थित गर्ने तथा देशमा आर्थिक क्रान्ति पूरा गरेर सहिदको सम्मान गर्ने अठोट लिएको बताउनुभयो ।
उहाँले सहिदका परिवारका सदस्यलाई आर्थिक सहयोग तथा रोजगारीको व्यवस्था गर्नेजस्ता कार्यक्रम निकट भविष्यमा ल्याएर सहिद परिवारको आँसु पुछ्ने जानकारी दिनुभयो ।
मानवअधिकारवादी नेता चरण प्रसार्इंले सहिदले बलिदानपछि ल्याएको प्रजातन्त्रमा दलले सत्तामा जाने भ¥याङकारुपमा मात्र लिएको र जनतालाई आर्थिकरुपमा समृद्ध पार्ने सहिदको सपनालाई उनीहरुले बेवास्ता गरेको बताउनुभयो ।
नागरिक समाजका हस्तबहादुर विश्वकर्माले राजनीतिक दलले प्रजातन्त्र, समानता र आर्थिक समृद्धिका मुद्दालाई रद्दीको टोकरीमा फालेको चर्चा गर्दै संविधानमा व्यवस्था भएअनुरुप ४० सदस्यीय मन्त्रिपरिषद् र छ उपप्रधानमन्त्रीमा एकजना पनि दलितलाई सहभागी नगरेर प्रजातन्त्रको धज्जी उडाएको बताउनुभयो । रासस
No comments:
Post a Comment