दाङ, ७ फागुन । जिल्ला दैवीप्रकोप उद्धार राहत कोषमार्फत जिल्ला प्रशासन कार्यालय दाङले प्रतिपरिवार रु पाँच हजारका दरले र जिल्ला विकास समितिले प्रतिपरिवार रु एक हजारका दरले दाङको राजपुर गाविस–१ फोहरा गाउँका १२ घरधुरी अग्निपीडितलाई रु ७२ हजार राहत प्रदान गरेको छ ।
यसैगरी सोही गाविसको हतिहवाका एक अग्निपीडितलाई पनि सोही अवसरमा राहत प्रदान गरिएको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको नेतृत्वमा पुगेको राजनीतिक दल, सङ्घसंस्था तथा कार्यालयका प्रमुखको टोलीले सो राहत प्रदान गरेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीबाट १२ सेट गैरखाद्य सामग्री प्रदान गरिएको छ । तत्काललाई जीवनयापन सहज बनाउन सो प्याकेजको सामग्री प्रदान गरिएको हो ।
प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्य शिविर
प्रजातन्त्र दिवसका अवसरमा आज दाङको सिसहनियामा आँखा र दाँत जाँचको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
यसैगरी सोही कार्यक्रममा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी लालमटिया र सिसहनिया स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा सिसहनिया गाविस कार्यालयको आर्थिक सहयोगमा आँखा, दाँतको निःशुल्क औषधि उपचार र रक्तदान कार्यक्रमको आयोजना एकैथलोमा गरिएको हो । प्रजातन्त्र दिवसलाई हरेक वर्ष यस्तै रचनात्मक काम गरेर सम्झने गरेको रेडक्रसका सभापति गङ्गाराम भट्टराईले बताउनुभयो । रासस
No comments:
Post a Comment