काठमाडौँ, १९ माघ । ‘साझा प्रकाशन बचाउ अभियान’ले सो संस्थाका लागि सरकारले अनुदान दिनुपर्नेलगायतका विषयमा आज मुख्यसचिव डा सोमलाल सुवेदीलाई ध्यानाकर्षण गराएको छ ।
पूर्वमन्त्रीहरू प्रदीप नेपाल, दीनानाथ शर्मा, बलदेव मजगैयाँ, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, साहित्यकार डा कृष्णहरि बरालसहितको प्रतिनिधिमण्डलले मुख्यसचिव सुवेदीलाई आर्थिक सहयोग र प्रकाशनका मौज्दातमा रहेका विभिन्न कृति सरकारी निकायमा खरिद गराउन छलफल गरेको हो ।
मुख्यसचिव डा सुवेदीले १०४ वर्षको प्रकाशनको इतिहास जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सो संस्थालाई रु ४० करोड ऋण उपलब्ध गराउन निर्देशन दिनुभएको र सो प्रस्ताव शिक्षा र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा आएपछि निर्णय हुने जानकारी गराउनुभयो ।
गत वर्षको फागुनबाट सुरु भएको सो अभियानअन्तर्गत अभियन्ताले सरोकारवाला निकायसँग भेट तथा छलफल जारी राखेको छ ।
यसअघि अभियानले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासँग छलफल गरी स्थानीय निकायका २१७ नगरपालिकामा साझाका मौज्दात पुस्तक खरिद गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो प्रकाशनसँग करिब रु २२ करोडको पुस्तक मौज्दात छ । रासस
No comments:
Post a Comment