हेटौँडा, १७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राविधिक शिक्षाबाट आत्मनिर्भर बनाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने नयाँ शिक्षा नीतिको आवश्यकतामा जोड दिनुभएको छ ।
मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरबारी गाविस–७ स्थित जनता उमाविको स्वर्णाेत्सवका उपलक्ष्यमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ सप्ताहको आज उद्घाटन गर्दै उहाँले ग्रामीण भेगमा शिक्षाको पहुँच पुगे पनि गुणस्तर कायम गर्नेतर्फ शिक्षा प्रणाली कमजोर रहेको हुँदा अब सरकारले शिक्षामा आमूल परिवर्तन गरी प्राविधिक शिक्षालाई जोड दिनुपर्ने औँल्याउनुभयो ।
कार्यक्रममा सहभागी सांसद इन्द्रबहादुर बानियाँ, पूर्वसांसद प्रेमबहादुर पुलामी, दिलबहादुर घिसिङ र कृष्णप्रसाद दाहाल तथा राप्रपा नेपालका मकवानपुरका अध्यक्ष नवराज विष्टले देशभक्ति जगाउने शिक्षा नीति लागू गर्न सरकारसँग माग गर्नुभयो । महायज्ञबाट उठेको रकम उमाविको भवन निर्माण गर्न खर्च गरिने महायज्ञ संयोजक कुपननारायण फुयाँलले राससलाई बताउनुभयो । रासस
No comments:
Post a Comment