Monday, March 14, 2016

च्यास्मिटार र बाहुनीडाँडामा सौर्य लघु मिनीग्रिड उद्घाटन

खोटाङ, १ चैत । जिल्लाको पश्चिमी गाविस च्यास्मिटार र बाहुनीडाँडामा जडान गरिएको सौर्य लघु मिनीग्रिड परियोजना उद्घाटन गरिएको छ ।

जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आज दुवै ठाउँमा जडान गरिएको सौर्य लघु मिनीग्रिड परियोजना उद्घाटन गर्नुभएको हो ।

परियोजना उद्घाटन गर्दै मन्त्री पासवानले मुलुकलाई विद्युत्भार कटौती गर्ने सरकारको अभियानअन्तर्गत प्रत्येक प्रदेशमा सौर्य ऊर्जाको कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताउनुभयो । “मुलुकलाई विद्युत्भार कटौती गर्न सरकारले विशेष अभियान सञ्चालन गरिरहेको छ ।” उहाँले भन्नुभयो – “यसका लागि प्रत्येक प्रदेशमा सौर्य ऊर्जाको कार्यालय स्थापना गरेर काम अगाडि बढाउने तयारी गरिएको छ ।”

विभिन्न दातृ निकायको आर्थिक सहयोग तथा हलेसी सोलार मिनीग्रिट कम्पनी प्रालिको पहलमा बाहुनीडाँडा, च्यास्मिटार र ओखलढुङ्गाको हर्कपुरमा सौर्य लघु मिनीग्रिड सञ्चालनमा ल्याइएको आयोजनाका प्रमुख इन्जिनियर जीवन वैद्यले जानकारी दिनुभयो । इन्जिनियर श्रेष्ठका अनुसार च्यास्मिटारमा २०, बाहुनीडाँडामा २२, हर्कपुरमा ३१ किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ ।

स्थानीय उपभोक्ताको श्रमदान तथा दातृ निकाएको ऋण लगानीमा सञ्चालित सौर्य ऊर्जाले बाहुनीडाँडा–२ र ३ मा पर्ने कदुवाका ६७ र च्यास्मिटार–५ को २५ घरमा बत्ती बालिएको छ । सौर्य ऊर्जाबाट च्यास्मिटारमा एकवटा राइस मिल र एकवटा कम्प्युटर सेन्टर तथा एकवटा एनसेल टावर सञ्चालन गरिएको छ ।

सौर्य ऊर्जा सञ्चालन भएपछि बाहुनीडाँडा र च्यास्मिटारका साथै ओखलढुङ्गाको हर्कपुरका स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । सौर्य ऊर्जाबाट चौबीसै घन्टा विद्युत् उपभोग गर्न पाइने भएपछि स्थानीय उपभोक्ता हर्षित भएका च्यास्मिटार ग्रिड निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश अधिकारीले बताउनुभयो ।

परियोजना उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सौर्य ऊर्जाको उपयोगिताको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, एसियाली विकास बैंकका प्रतिनिधि जीवन आचार्य, विनरक इन्टरनेसनलका निर्देशक विनोद श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

मन्त्री पासवानले यसअघि आइतबार ओखलढुङ्गाको हर्कपुरमा ३१ किलोवाट क्षमताको ग्रिड उद्घाटन गर्नुभएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने हर्कपुरमा सञ्चालित सौर्य लघु ग्रिडबाट ४२ परिवारले विद्युत् सुविधा प्राप्त गर्नुका साथै विभिन्न १६ वटा व्यवसायहरू सञ्चालन भएका छन् । इन्टरनेट सेवाको पहुँच विस्तार भएपछि अनुगमन प्रणाली र साइबर क्याफे, मोवाइल बैंकिङ, टेलिमेडिसिनजस्ता सेवाहरू गाउँमै उपलब्ध भएका छन् ।

तीनवटै ठाउँमा सञ्चालन गरिएको परियोजनामा एसियाली विकास बैंक, डिओइएन फाउन्डेसन र एनएमबी बैंकको ऋण लगानी छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts