Wednesday, March 2, 2016

ढुङ्गा, माटोको प्रयोगले गोरखामा भूकम्प प्रतिरोधी घर बनाइयो

खोप्लाङ (गोरखा), १९ फागुन । ढुङ्गा, माटो र काठको प्रयोगले गोरखाको खोप्लाङ गाविस –९ स्थित ठूलोगैरीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा पाइने सामग्री (ढुङ्गा, माटो र काठ) को प्रयोग गरेर कामदारले दुईकोठे भवन निर्माण गरेका हुन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिबाट ४५ दिने डकर्मी तालिम लिएका दक्ष कामदारले भूकम्प प्रतिरोधी भवन निर्माण गरेको समितिका उद्योग अधिकृत गोकर्णराज जोशीले जानकारी दिनुभयो । चार जना महिलासहित १६ जना पुरुष कामदारले एक महिना अवधि लगाएर भवन निर्माण गरेका हुन् ।

भूकम्पले भत्काएको अन्नपूर्ण सामुदायिक महिला समूहको भवन निर्माण गरिएको हो । समितिले सञ्चालन गरेको तालिमबाट सिकेको ज्ञानले भवन निर्माण गरेको कामदार महिला निर्जला बाठा मगरको भनाइ छ । “तालिमबाट सिकेको ज्ञानले बलियो भवन बनाइयो”– उहाँले भन्नुभयो– “भूकम्प जाँदा नभत्कने गरी भवन बनाएका छौँ ।” पुरुषसरह काम गर्नसक्ने भन्दै मगरले भवन छाउँदा केही समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

गाउँका युवा रोजगारीका क्रममा विभिन्न देशमा पुगेका छन् । भूकम्पले भत्काएका घर तथा भवन पुनःनिर्माणमा ढिलाइ भएको छ भने अर्कातिर कामदारको अभाव छ । त्यस्तै धराप संरचना तह लगाउन गाउँमा कामदार छैनन् । भूकम्पले भत्काएको पुरानो घरको काठपात, माटो र ढुङ्गाको प्रयोग गर्दा पनि रु दुई लाखमा घर नबन्ने गाउँलेको भनाइ छ ।

बाहिरबाट हेर्दा पुरानै शैलीमा निर्माण भएजस्तो देखिने भवनको जगदेखि धुरीसम्म भूकम्प प्रतिरोधी बनाइएको छ । जगमा सिमेन्ट, बालुवाको प्रयोग गरिएको छ भने झ्याल, ढोका र गाह्रोको बीचमा पनि सिमेन्ट, बालुवाको प्रयोग गरिएको भवन निर्माणमा प्रत्यक्ष रुपमा खटिएका प्राविधिक अजय विष्टले बताउनुभयो ।

घर तथा भवन निर्माण गर्ने ठाउँ (जमिन)को माटो परीक्षण गरेपछि रेखाङ्कन गर्ने र बलियो जग बनाइएको विष्टको भनाइ छ । ग्रामीण प्रकृतिका घर तथा भवन निर्माण गर्दा छ÷छ फिटको ढोका र चार÷तीन फिटको झ्याल राख्नु उपर्युक्त हुने विष्टले बताउनुभयो ।

“पिल्लरवाला घरमात्रै भूकम्प प्रतिरोधी हुने होइन । प्रविधिको सही प्रयोग गर्न सकियो भने ढुङ्गा, माटोका घर पनि बलिया हुन्छन्”– घर निर्माणमा सहयोग गर्दै आएको समग्र विकास सेवा केन्द्रका प्रमुख भरतकुमार श्रेष्ठले भन्नुभयो– “स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर बलियो घर बनाउँदा झन्झट हुँदैन ।” स्थानीय सविता श्रेष्ठले बर्खाअघि नै नयाँ घर बनाएर बस्नुपर्ने भएकाले सरकारले छिटो अनुदान रकम दिनुपर्ने तर्क गर्नुभयो ।

भूकम्प प्रतिरोधी घर बनाउन तालिम

वैशाखमा गएको भूकम्पले भत्काएको गोरखाको ७० हजार वटा व्यक्तिगत घरका साथै सरकारी तथा सामुदायिक घर, भवन पुनःनिर्माण गर्न कामदारलाई तालिम दिइएको छ ।

जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिले सदरमुकाममा वायरिङको तालिम दिएको हो भने भच्चेक, सिम्जुङ, खोप्लाङ र आरुचनौटे गाविसमा ४५ दिने तालिम सञ्चालन गरेको बताएको छ ।

समितिका उद्योग अधिकृत गोकर्णराज जोशीका अनुसार सदरमुकाममा २० जना, भच्चेक र सिम्जुङमा गरी २० जना, आरुचनौटेमा २० जना र खोप्लाङका २० जना स्थानीयवासीलाई दक्ष कामदार उत्पादन गर्न तालिम दिएको हो ।

तालिममा महिला पनि सहभागी छन् । समितिले विभिन्न ठाउँमा सञ्चालन गरेको तालिमबाट पहिलो चरणमा २०० जना दक्ष कामदार उत्पादन भएको जोशीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts