काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले आफूहरुलाई प्राप्त मतले दृढतापूर्वक उभिने ‘म्यान्डेट’ दिएको बताउनुभएको छ ।
आफ्ना मतदाता तथा सुभेच्छुकलाई धन्यवाद दिन राजधानीमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले आफूहरुले सम्मानजनक मत पाएकाले अब आफूहरु काँग्रेसभित्र दुवै पक्षलाई दबाब दिनेगरी उभिइरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको नयाँ नेतृत्वले परिवर्तनलाई अड्काउने होइन तन्काउनेतर्फ लाग्नु पर्दछ, पार्टीभित्र परिवर्तन चाहनेको सङ्ख्या ठूलो छ ।” नेता सिटौलाले काँग्रेस आफ्ना लागि नभई देश र जनताका लागि बनेकाले देश र जनतालाई सोचेर नयाँ नेतृत्वले काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा महामन्त्रीका प्रत्यासी गगनकुमार थापाले निर्वाचनबाट आफूहरु पराजित भए पनि पार्टीप्रतिको जिम्मेवारी र क्रियाशीलतामा रत्तिभर कम नहुने बताउनुभयो । उहाँले पार्टीलाई सशक्त बनाउनका लागि अझ बढी मेहनेत गर्ने अठोट व्यक्त गर्नुभयो ।
आफूहरुले पाएको मत सम्मानजनकमात्रै नभई उत्साहजनकसमेत भएको तर्क गर्दै थापाले भन्नुभयो– “संविधानको मर्म र उद्देश्य विपरीत कोही उठ्यो भने त्यसका विरुद्धमा कठोर भएर उभिने छौँ, त्यतिबेला पनि तपाईहरुको साथ पाउनेछाँै भन्ने विश्वास छ ।”
कोषाध्यक्षका प्रत्यासी उमाकान्त चौधरीले प्रजातान्त्रिक प्रक्रियामा हारजितलाई स्वभाविकरुपमा लिइने भएकाले आफूहरुले पनि स्वभाविकरुपमा लिएको बताउनुभयो । उहाँले आफूले पाएको मत अपार मत हो भन्दै नेता तथा कार्यकर्ताको सही मूल्याङ्कन हुने परिपाटी बसाल्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिनुभयो । रासस
No comments:
Post a Comment