जनकपुर, २९ फागुन । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले प्राचीन सभ्यताको धरोहरका रुपमा रहेको मिथिला आज राजनीतिक अखडाको रुपमा विकसित भइरहेकोले यसको मौलिकता हराउँदै गएको बताउनु भएको छ ।
जनकपुर उपमहानगरपालिका–१४ रजौलमा निर्माण हुन लागेको श्रीराम जानकी रङ्गशालाको भौतिक पूर्वाधार सम्बन्धमा स्थलगत निरीक्षण गर्दै मन्त्री मण्डलले सो कुरा बताउनु भएको हो । जगत्जननी सीता नभए रामको कुनै अस्तित्व नै नहुने उल्लेख गर्दै मन्त्री मण्डलले भन्नुभयो, “हाम्रा पूर्वजले अर्जेको प्राचीन मिथिलालाई कालान्तरमा आएर मिथिलावासीले उपहास गरेकाले यसको अपेक्षित विकास हुन नसकेको हो ।”
मन्त्री मण्डलले नेपाल–भारतबीचमा केही समय अघि देखापरेको कटुता नाकाबन्दी अन्त्यसँगै समाप्त भई दुई देशबीच पहिले जस्तै सुमधुर भएको उल्लेख गर्नुभयो ।
खेलकुदको सम्बन्ध स्वास्थ्यसँग भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुनु जनकपुरवासीको लागि गौरवको विषय भएको बताउँदै मन्त्री मण्डलले रङ्गशाला निर्माण गर्ने आगामी आव २०७३÷०७४मा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा शान्ति तथा पुनःनिर्माण राज्यमन्त्री दीपनारायण साहले नगरपालिका र जिविसमा भएको व्यापक भ्रष्टाचारको कारण जनकपुर नगरको यथोचित विकास हुन नसकेको धारणा राख्नु भयो । उहाँले जनकपुरलाई सुन्दर सहर बनाउनेतर्फ यहाँका नेताको ध्यान नपुगेकाले जनकपुरको अवस्था दिनप्रतिदिन जर्जर हँुदै गएको टिप्पणी गर्नु भयो । रासस
No comments:
Post a Comment