भक्तपुर, १९ फागुन । गत वैशाख १२ गतेको भूकम्पले घर, पर्खाललगायतका संरचना भत्किएको र टेको लगाएको घरका कारण यसवर्षको बिस्केट जात्रा सञ्चालनमा समस्या हुने भएको छ ।
बिस्केट जात्रा सञ्चालन गर्ने रुटका अधिकांश घरमा टेको लगाएका कारण भक्तपुर र मध्यपुर थिमिमा मनाइने बिस्केट जात्रा समस्यामा पर्ने भएको हो ।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत तौमढीबाट भैरव र भद्रकालीको रथ जात्रा गर्दै आठ रात नौ दिनसम्म मनाइने यो जात्रा प्रभावित हुने भएको छ । आउँदो चैत २७ गते तौमढी (पाँचतले मन्दिर प्राङ्गण) बाट भैरबको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न गर्ने परम्परा रहेको छ ।
जात्रा सञ्चालनमा धेरै वर्षदेखि संलग्न रहँदै आउनुभएका समाजसेवी तथा तौमढीका बासिन्दा अनन्तप्रसाद धौभडेलले भूकम्पका कारण आउँदो बिस्केट जात्रा प्रभावित हुने बताउनुभयो ।
‘तौमढीमा भद्रकालीको रथ राख्ने ठाउँमा लहरै रहेको घरको टेकोले रथ राख्नै मिल्दैन, यसवर्ष तल राख्नुपर्ने भएको छ,’ उहाँले भन्नुभयो˗‘यसवर्ष माथिका बासिन्दा र तलका बासिन्दाले तौमढी मात्रै रथलाई तल माथि गरेर मनाउनुपर्छ, रथलाई तौमढीबाट बालाखु र क्वाछेँभन्दा पर लैजान सकिन्न, जात्रा सञ्चालनमा समस्या पर्छ ।’
भैरव देवतालाई राख्ने लाकुलाछेंको मन्दिर र ल्यासिङ्खेलमा लिङ्गो उभ्याउने मन्दिर भत्किएकाले समस्या पारेको छ । भैरवको रथ तान्ने क्रममा तौमढीबाट तलको बासिन्दाले नासमना हुँदै बंशगोपालसम्म र माथिका बासिन्दाले तौमढीबाट सुकुलढोका हँुदै दत्तात्रयसम्म रथ लैजाने कार्य यसवर्ष गर्न नसकिने उहाँको भनाइ छ ।
रथ लैजाने बाटोमा भूकम्पले भत्काएका घरको भग्नावशेष रहेको र धेरैजस्तो घर टेकोमा अडिएका कारण रथ तान्दा जीर्ण घर हल्लिने र रथ घरमा ठोकिएर दुर्घटना हुनसक्ने सम्भावना भएकाले जात्रा नै प्रभावित हुने भएको स्थानीयको भनाइ छ ।
यता चैत मसान्तमा भेलुखेलको ल्यासिङ्खेलमा ५५ हात लामो लिङ्गो उठाउने ठाउँमा भूकम्पपीडितको अस्थायी शिविर रहेकाले शिविर व्यवस्थापन नगरे लिङ्गो जात्रा समेत प्रभावित हुने निश्चित छ । पालभित्र बसेका यहाँका करिब ५० घरपरिवार भूकम्पपीडितलाई जात्राअघि नै व्यवस्थापन गर्न नसके लिङ्गो उठाउन मिल्दैन ।
तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले भूकम्पका कारण कयाँै घर अझै टेकोमै अडिएकाले बिस्केट जात्रा प्रभावित हुने बताउनभयो । स्थानीय जात्रालुले पनि समय र परिस्थितिलाई बुझेर रथ तान्न जबर्जस्ती गर्न नहुने उहाँको भनाइ छ ।
यता मध्यपुर थिमिको लायकू, बालकुमारी, चपाचो, नगदेश, बोडेमा वैशाख २ गते मनाइने २६ खटसहितको सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्रासमेत प्रभावित हुने भएको छ ।
मध्यपुर थिमिको प्रसिद्ध जात्राको रुपमा रहेको सिन्दूर जात्रासहितको विभिन्न जात्रा सञ्चालन गर्ने बाटोको दायाँबायाँका घरमा टेको लगाइएका कारण जात्रा प्रभावित हुने भएको सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार देवता रहेको खटलाई टोलटोलबाट लगेर जात्रा गरी बालकुमारी ल्याउने परम्परा भए पनि भूकम्पका कारण सुगा पुखु, भूलाँखेल हुँदै दुईपोखरी, चारगणेश आउने रुटमा जात्रा सञ्चालन गर्न नसकिने अवस्था छ ।
जात्रा सञ्चालन गर्न नसक्ने ठाउँमा परम्परा तोडिने भए पनि जोखिम क्षेत्रमा जबर्जस्ती रुपमा खट नलैजाने उहाँले जानकारी दिनुभयो । टोलटोलमा खट लगेर सिन्दूर खेल्दै जात्रा मनाउने परम्परा भए पनि घरघरमा टेको लगाएका कारण खट लैजान समस्या पर्ने भएपछि जात्रा नै प्रभावित हुने स्थानीय सञ्चारकर्मी रामकृष्ण शङ्खदेवले बताउनुभयो ।
यता नगदेशमा मनाइने सिद्धीगणेश सिन्दूर जात्रा सञ्चालन गर्न नमिल्ने भएको स्थानीय कृष्णबहादुर घुजूले बताउनुभयो । उहाँले भन्नुभयो—‘नगदेशका धेरै घरमा टेको लगाएका कारण बिस्केट जात्रा सञ्चालन गर्नसक्ने अवस्थामा छैन, मङ्सिर पूर्णिमामा मनाउने जात्रा पनि मनाउन पाइएन ।’
त्यसैगरी थिमिकै बोडेमा मनाइने जिब्रो छड्ने जात्रा समेत प्रभावित हुने भएको छ । जिब्रो छेड्ने व्यक्तिले महाद्धिप बोकेर घुम्ने रुटका कतिपय घरमा टेको लगाएका कारण जात्रा सञ्चालनमा समस्या आउने भएको हो । रासस
No comments:
Post a Comment