इलाम, २९ फागुन । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सबै राजनीतिक दललाई देशको पर्यटकीय सम्भावना उजागर गर्दै आर्थिक समृद्धितर्फ लाग्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले)ले इलामको सुखानीबाट सुरु भएको मेची पर्यटन प्रवद्र्धन अभियानलाई आज इलामको कन्याममा सम्बोधन गर्दै उहाँले नयाँ संविधान जारी भइसकेकाले अब संविधान कार्यान्वयन गर्दै देशलाई आर्थिक गतिमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेम्वाङले भन्नुभयो–“आर्थिक विकासका लागि राजनीतिक दल तथा सर्वसाधारण नागरिकलाई गाउँ गाउँदेखि उठ्न म आग्रह गर्छु । मेचीदेखि महाकालीसम्म सबै देश विकासमा लागौँ ।” उहाँले इलामको धार्मिक तथा कृषि क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो ।
कार्यक्रममा एमाले इलामका अध्यक्ष राम रानाले पर्यटनको नयाँ आयाम सुरु भएको र यो अभियानले मेची–कालीमा दोहोरो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अभियानमा ७५ जिल्लाकै एमाले जिल्ला अध्यक्षसहित मेचीका सांसद् तथा अञ्चल र केन्द्रीय कमिटीका सदस्यहरू गरी करिब एक सय बढीको सहभागिता छ । अभियानका सहभागीलाई शान्ति सहिद पार्क कन्यामका सदस्य डम्बर कटुवालले कन्याम, इलामको चिया तथा चिया रोपण कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।
अभियान सीमावर्ती बजार पशुपतिनगर पुगेर इलाम सदरमुकाम पुगेको छ । आइतबार धार्मिक तथा पर्यटकीयस्थल माईपोखरी हुँदै सहिद रत्नकुमार वान्तवाको घर चमैता जाने एमालेले जनाएको छ । रासस
No comments:
Post a Comment