Thursday, March 10, 2016

कुनै पनि बिरामीले मर्नुपर्ने अवस्था नहोस् : प्रम

भक्तपुर, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला रोगको उपचार मात्रै निःशुल्क गर्ने नभई कुनै पनि बिरामीले मर्नुपर्ने अवस्था नहोस् भनेर लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
विश्व मिर्गाैला दिवसका उपलक्ष्यमा आज मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले आयोजना गरेको अत्याधुनिक ग्यास्ट्रोइन्टरोलोजी, सघन उपचार कक्ष र प्रयोगशाला सेवाको उद्घाटन गर्दै उहाँले कुन रोगको उपचारका लागि कति जनशक्ति आवश्यक छ, कुन कुन रोगका चिकित्सक आवश्यक छ भन्ने हिसाब नगरी पसल थापे जस्तै गरी मेडिकल कलेज खोल्न नहुने बताउनुभयो ।

सरकारको क्षमता र सामथ्र्यले भ्याएसम्म स्वास्थ्य क्षेत्रलाई सबल बनाउन आफू लाग्ने बताउँदै उहाँले भन्नुभयो–“जनतालाई भोकै बस्नुपर्ने, जाडामा कठाङ्ग्रिएर बस्नुपर्ने, छानो नभएर खुला आकाशमुनि बस्नुपर्ने, आफ्ना छोराछोरीलाई पढाउन नपाइने, उपचार नपाइने अवस्था अब रहँदैन ।”

कार्यक्रममा उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीले विपन्न परिवारलाई डायलोसिस र मिर्गौला प्रत्यारोपण निःशुल्क र जिल्ला जिल्लामा डायालोसिस सेवा विस्तार गर्नुपर्ने औँल्याउनुभयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अस्पतालका लागि भौतिक पूर्वाधारको विकास गर्नुपर्ने र गरिब बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा समाजकल्याण संसदीय समितिका सभापति रञ्जुकुमारी झा, लन्डनस्थित फ्रिमेन हस्पिटलका डा एलिसन ब्राउन लगायतले मिर्गौला उपचारका लागि अब विदेश जानु नपर्ने गरी स्वदेशमै पूर्ण उपचारको व्यवस्था भएको बताउनुभयो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले नेपालमा ३० लाख व्यक्ति मिर्गौलाको कुनै न कुनै रोगी रहेको, हरेक वर्ष तीन हजारको मिर्गौलाले काम नगर्ने र तीमध्ये ९० प्रतिशत बिरामीको तीन महिनामै मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

केन्द्रले रु तीन लाखमा मिर्गाैला प्रत्यारोपण सेवा दिँदै आएको, सातामा चार वटासम्म गरी वर्षमा करिब १०० जनाको मिर्गौला प्रत्यारोपण भएको, अहिलेसम्म १४६ जनाको मिर्गौला प्रत्यारोपण भएकामा २७ जना मात्रै महिला रहेको र ३० हजारलाई डायलोसिस सेवा दिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts