Saturday, March 12, 2016

लिच्छविकालीन गाःहिटीको पुनःनिर्माण सुरु

काठमाडौँ, २९ फागुन । गत वैशाख १२ को भूकम्पबाट क्षति भएको धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको लिच्छविकालीन गाःहिटी ढुङ्गेधाराको पुनः निर्माण सुरु गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२९ स्थित पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित पुरातात्विक महत्वको उक्त ढुङ्गेधारा भूकम्पले नजिकैको तत्कालीन बजेट होटल भत्किएर धाराभित्र खसेपछि जीर्ण भएको थियो ।

उक्त घटनामा धारामा कपडा धोइरहेकी एक महिला र होटलमा रहेका आठ जना गरी नौ जनाको मृत्यु भएको थियो । मृतकको खोज तथा उद्धारका क्रममा डोजरको प्रयोग गर्दा धाराको भौतिक अवस्थामा क्षति पुगेको थियो ।

काठमाडौँ महानगरपालिकाको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत सहयोगमा ढुङ्गेधाराको पुनःनिर्माण सुरु गरिएको हो । करिब तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ थालिएको जीर्णोद्वार कार्यका लागि झन्डै रु ४६ लाख लाग्ने बताइएको छ ।

गाःहिटी पुनःनिर्माण अभियानको आज यहाँ आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले विधिपूर्वक उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले भूकम्पले भत्काएका भौतिक संरचनाको पुनःनिर्माणका लागि दाताको मुख ताकेका कारण काम कम भएको अवस्थामा स्थानीयको अग्रसरतामा गाःहिटी पुनःनिर्माण कार्य हामी आफैँ गर्न सक्छौँ भन्ने प्रमाण प्रस्तुत भएको बताउनुभयो ।

उहाँले पुरातात्विक महत्वका सम्पदालाई स्थानीयले अपनत्व अनुभूत गर्नेगरी पुनःनिर्माणको कार्यमा महानगरपालिकाले हातेमालो गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

गाःहिटी पुनःनिर्माण समितिका संयोजक भवि शर्माले आफ्नो ठाउँ आफैँ बनाउने उद्देश्यले पर्यटकीय क्षेत्रको सांस्कृतिक संरचनाको पुनःनिर्माणमा व्यावसायिका तर्फबाट सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो ।

करिब दुई रोपनी क्षेत्रफलमा रहेको गाःहिटीमा चार वटा ढुङ्गेधारा छन् जहाँ बाह्रै महिना पानी आउँछ ।

धाराको सांस्कृतिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वलाई यथावत राखी ढल निकास, सुरक्षा व्यवस्था, सन्निकट सडकको स्तरोन्नतिजस्ता काम जीर्णोद्वार गरिनेछ । गाःहिटीको अहिलेसम्म कति पटक जीर्णोद्वार गरियो भन्ने यकिन तथ्य नभए पनि पछिल्लो विवरणअनुसार २०४१, २०५०÷०५१ सालमा जीर्णोद्वार भएको थियो ।
ढुङ्गेधारा निर्माणका लागि पर्यटन व्यवसायी भवि शर्माको संयोजकत्वमा वडा नागरिक मञ्च गठन गरी टुरिजम बैंकमा खाता खोलेर सहयोग रकम सङ्कलन भइरहेको छ ।

यसैबीच ढुङ्गेधारा पुनःनिर्माणका लागि ठमेल पर्यटन परिषद्का तर्फबाट अध्यक्ष रामशरण थपलियाले रु पाँच लाख ११८ सहयोग उपलब्ध गराउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts