भक्तपुर, २९ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गर्नका लागि कार्य अगाडि बढाए पनि स्थानीय निकाय निर्वाचन विधेयक संसदमा अड्किएकाले ढिलाइ भइरहेको बताउनुभएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा भक्तपुरको १३ आँै वार्षिक साधारणसभामा बोल्दै उहाँले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गर्न लागिपरेको बताउनुभभएको हो ।
उहाँले भन्नुभयो˗ ‘संविधानमा उल्लेख गरेअनुसार नै छिटो स्थानीय निकायको निर्वाचन हुन्छ, यसका लागि सरकारले काम सुरु गरेको छ, संसदबाट विधेयक पारित हुनेबित्तिकै निर्वाचनको सबै काम सुरु हन्छ ।’
स्थानीय निकायको निर्वाचन छिटो गर्न नागरिक समाजबाट दबाबमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै मन्त्री शाहीले स्थानीय निकायको निर्वाचन नहुँदा स्थानीय सरकारको अभावमा विकासका काम प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा यसवर्ष जिल्लाका सर्वोत्कृष्ट छनोट भएको संस्था मानवअधिकार तथा विकास मञ्चलाई पुरस्कार प्रदान गरियो ।
त्यसैगरी मन्त्री शाहीले जिल्लाको युवा क्रियाकलाप समाज र रुपान्तरण नेपाललाई उत्कृष्ट संस्थाको प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद अधिकारी, गैरसरकारी संस्थाका केन्द्रीय कोषाध्यक्ष जीतराम लामा, गैरसरकारी संस्थाका भक्तपुरकी उपाध्यक्ष जुन बस्नेत, सचिव सोम शर्मा (बजगाइँ) लगायतले गैरसरकारी संस्थाले देशको आमूल परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गर्दै गरिब जनतासम्म गैरसरकारी संस्थाका कार्यक्रम पुग्नुपर्नेमा जोड दिनभयो । रासस
No comments:
Post a Comment