Wednesday, March 2, 2016

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका नेताहरुले भोलिदेखि सुरु हुने पार्टीको १३ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले महाधिवेशनको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको ‘पुस्तक विमोचन तथा चियापान कार्यक्रम’मा बोल्दै पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफ्नै नेतृत्वमा बनाएको संविधान कार्यान्वयनका लागि पनि पार्टी एकढिक्का हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले मुलुकमा संविधान जारी हुनु नेपाली काँग्रेसको सिद्धान्तको विजय भएको भन्दै यसको कार्यान्वयनका लागि नेपाली काँग्रेस दिगो भएर लाग्ने स्पष्ट पार्नुभयो ।

कार्यबाहक सभापति पौडेलले नेपाली काँग्रेस, प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राखेको भन्दै १३ औँ महाधिवेशनले यसको सही मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातन्त्र सुढृढीकरण अहिलेको आवश्यकता रहेको भन्दै पार्टीलाई समयानुकूल सही दिशामा लैजाने नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टीभित्र एकता र मेलमिलापको खाँचो रहेको भन्दै आफूले जिते पार्टीलाई एकढिक्का बनाएर लैजाने दाबी गर्नुभयो ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनले स्वर्गीय सभापति सुशील कोइरालाको शोकलाई शक्तिमा बदलेर पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने बताउनुभयो ।

उहाँले समावेशी पार्टी पुरातनवादी सोचले चल्न नसक्ने भन्दै अब पार्टीलाई युवाको खाँचो रहेको स्पष्ट पार्नुभयो ।

नेता गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा सक्षम र इमान्दार नेतृत्व छान्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई एक बनाएर लैजाने नेतृत्व १३ औँ महाधिवेशनको आवश्यक रहेको औँल्याउनुभयो ।

नेत्री सुजाता कोइरालाले अहिले पार्टीभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको भन्दै सबैसँग सहमति गरेर अगाडि बढ्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीभित्र युवा पुस्तालाई अगाडि सार्नुपर्ने बताउनुभयो ।

सांसद दीपक खड्का, नेवि सङ्घ अध्यक्ष रञ्जित कर्ण, नेवि सङ्घ नेता क्रृषिकेशजङ्ग शाह, गुरु भट्टराई, रीता खनाललगायतले पार्टीलाई एकढिक्का बनाउनका लागि नेताहरुले आ–आफ्नो क्षेत्रबाट त्याग गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा कार्यबाहक सभापति पौडेलले नेपाल विद्यार्थी सङ्घको इतिहास समेटिएको पुस्तक ‘सक्रान्ति’, वरिष्ठ नेता देउवाले नेवि सङ्घको प्रशिक्षण पुस्तिका ‘रुपान्तरण’, नेत्री कोइरालाले नेवि सङ्घको इतिहास समेटिएको पर्चा, डा रामशरण महतले उत्तरदायी, डा शशाङ्क कोइरालाले ७५ जिल्लाका जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको नामावली समेटिएको पुस्तक विमोचन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts