Wednesday, March 2, 2016

जिल्ला परिषद् सम्पन्न,रु एक अर्ब ९५ करोडको बजेट प्रस्तावित

जुम्ला, १९ फागुन । ‘प्राङ्गारिक कृषि, वातावरण, ऊर्जा र रोजगारीमा अभिवृद्धि, शिक्षा, स्वास्थ्य, संस्कृति, समतासहितको जुम्लाको समृद्धि’ भन्ने मूल नाराका साथ जुम्ला जिल्लाको २३औँ जिल्ला परिषद् सम्पन्न भएको छ ।

परिषद्ले आगामी आव ०७३÷०७४ का लागि रु एक अर्ब ९५ करोडको बजेट प्रस्तावित गरेको छ । परिषद्का अध्यक्ष तथा स्थानीय विकास अधिकारी राजेश पौडेलले प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । जसमा चालुतर्फ रु ३१ करोड ८८ लाख ९१ हजार र पुँजीगततर्फ रु ३९ करोड नौ लाख चार हजार गरी जम्मा रु ७० करोड ९७ लाख ९५ हजार खर्चको प्रस्ताव गरिएको छ ।

त्यसैगरी, विषयगत तथा सरकारी कार्यालयको चालुतर्फ रु ५३ करोड १९ लाख ६५ हजार र पुँजीगततर्फ रु ५६ करोड ७३ लाख दुई हजार गरी जम्मा रु एक अर्ब नौ करोड ९२ लाख ६७ हजार प्रस्ताव गरिएको छ । विभिन्न गैससतर्फ भने रु १४ करोड ३१ लाख ७३ हजारसमेत गरी आगामी आव ०७३÷०७४ का लागि जुम्ला जिल्लाको कुल बजेट रु एक अर्ब ९५ करोड २२ लाख ३५ हजार प्रस्ताव गरिएको छ ।

परिषद्ले राष्ट्रिय विद्युत् प्रसारण लाइनलाई जुम्ला जिल्लासम्म विस्तारका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, जिल्लाका गौरवपूर्ण आयोजना धौलीगाड खानेपानी, गोठीचौर विद्युत् परियोजना र चुकेनी जलविद्युत् आयोजनालाई अगाडि बढाउन आवश्यक पहल गरिने नीति लिएको छ । त्यसैगरी, निकै ठूलो समस्याका रुपमा देखिएको बालविवाहका घटनालाई निरुत्साहित गर्दै यसलाई बालमैत्री जिल्ला निर्माण गर्ने नीति पनि परिषद्ले लिएको छ ।

पर्यटक सहायता डेस्कको स्थापना गर्ने, आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकलाई आदर सत्कार गर्न कर्णाली पर्यटन अतिथि सत्कार सेन्टरको स्थापना गर्ने, व्यवस्थित सहरी विकास गर्न व्यवस्थित गुरुयोजना, जुम्ला उज्यालो कार्यक्रम, खेल जगतको विकास गर्न उच्च हिमाली प्रशिक्षण केन्द्र, मिनी स्टेडियम र गैससको प्रभावकारी सञ्चालनका लागि एनजिओ डेस्क स्थापना गरी कार्यान्वयनमा ल्याइने नीति अवलम्बन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts