काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै राष्ट्रिय एकताका साथ राष्ट्र निर्माणमा लाग्न अपिल गर्नुभएको छ ।
संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित ‘अरनिको कृति श्वेतचैत्य’ (नेपालीमा अनुवादित) (महाकाव्य) को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबै जातजाति, क्षेत्र समुदायको अधिकार सुनिश्चत गरेको छ, अब त्यसको कार्यान्वयन सँगसँगै शिक्षा, स्वास्थ्यलगायत अन्य विकासका कार्यका जुट्न आवश्यक छ भन्नुभयो ।
नेपाल विभिन्न जातजाति भएको मुलुक भएकाले कुनै एउटा जाति वा क्षेत्रको मात्र भन्दा पनि समग्र देशको विकासमा लाग्नुपर्ने उहाँको भनाइ छ ।
चीनको पेकिङमा आजभन्दा सात सय वर्ष पहिले अर्थात् तेह्रौँ शताब्दीमा कलाकार अरनिकोले आफ्नै नमुनामा निर्माण गरेको विशाल श्वेतचैत्यका विषयमा अध्ययन, अनुसन्धान गरी रचना गरिएको प्रस्तुत कृतिले नेपाल र चीनबीचको दौंत्य र सांस्कृतिक सम्बन्ध, बौद्ध धर्म दर्शन, नेपाली वास्तुकला र अरनिकोका बारेमा प्रकाश पारेको छ । तलेजु प्रकाशनले प्रकाशन गरेको सो पुस्तकलाई अणुराज जोशीले अनुवाद गर्नुभएको हो ।
चीन भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटसँगै त्यहाँ रहेको अरनिको प्रतीक भएको ठाउँसम्म पुगेर फर्किने जानकारी दिनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “नेपाल निर्माणमा नेवार समुदायको अतुलनीय योगदान छ, तर हाम्रो सभ्यता र संस्कृतिलाई आधुनिक र सुविधायुक्त बनाउनुको सट्टा परम्परावादी पनि हुनुहुँदैन ।” राज्यले आरक्षणको व्यवस्था गरे पनि हरेक क्षेत्रमा प्रतिस्प्रर्धाका लागि क्षमता वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
चिनियाँ राजदूतावासका सांस्कृतिक सहचारी चाङपिङले सात सय वर्ष पहिले चीनमा श्वेतैत्य भन्नु भनेको नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको प्रतीक हो भन्नुभयो ।
नेपाल भाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली र सदस्य–सचिव मल्ल के सुन्दरले नेपाल भाषा, साहित्य र वाङ्मयलाई राज्यले संरक्षण गर्नुको सट्टा बेवास्ता गरिएको गुनासो गर्नुभयो । बीस वर्षअघि स्थापना भएको एकेडेमीले अहिलेसम्म विभिन्न ५० शीर्षकका पुस्तक प्रकाशन गरिसकेको छ ।
नेपाल भाषा एकेडेमीले आयोजना गरेको सो कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक शान्ती तुलाधरले अरनिको कृति श्वेतचैत्य महाकाव्य भए पनि भाषागत र अन्य हिसाबले पनि अत्यन्त सरल भएको बताउनुभयो ।
सोही अवसरमा कीर्तिपुर नगरपालिका खानेपानी सङ्घर्ष समितिले कीर्तिपुरवासीले भोग्नुपरेको खानेपानीको अभावलाई समाधान गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ । रासस
No comments:
Post a Comment