काठमाडौँ, २१ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विमान चालक स्व रोशन मानन्धरको परिवारसँग भेटी समवेदना व्यक्त गर्नुभएको छ ।
चालक मानन्धरको डल्लुस्थित निवासमा आज बिहान गई उहाँका आमा, श्रीमतीलगायत परिवारका सबै सदस्यसँग भेट गरी उहाँले समवेदना दिनुभएको हो ।
यही फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको टुइनअटर विमान म्याग्दीको सोलीघोप्टेमा दुर्घटना हुँदा चालक मानन्धरसहित २३ जनाको मृत्यु भएको थियो ।
मन्त्री पोखरेलसँग परिवारका आमालगायत सदस्यले विमान दुर्घटनामा मेरो छोराको मृत्यु भयो हामीलाई रुनुको विकल्प छैन अरु कसैलाई पनि यस्तो दुःख नपरोस् भन्ने कामना गर्नुभयो ।
मन्त्री पोखरेलले दुर्घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन भइसकेको र समितिले बुझाउने प्रतिवेदनका आधारमा सरकारले थप कार्ययोजना अगाडि बढाउने बताउनुभयो ।
स्व मानन्धरको परिवारलाई भेट्न विमान दुर्घटनाको सत्यतथ्य छानबिनका लागि गठित समितिका तीनजना सदस्य पनि मन्त्रीसंगै जानुभएको थियो । रासस
No comments:
Post a Comment