Wednesday, March 2, 2016

गुट संस्थागत हुनेगरी निर्वाचनमा नजान सुझाव

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिन यहाँ आएका नेता तथा कार्यकर्ताले गुट संस्थागत हुनेगरी निर्वाचनमा नजान सुझाव दिएका छन् ।

गुट–उपगुटले पार्टीको उद्देश्यलाई कमजोर पार्ने भन्दै कार्यकर्ताले पार्टीका शीर्षनेतालाई एकबद्ध भएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

चितवन क्षेत्र नं ४ की क्षेत्रीय सभापति सरिता केसी कार्यकर्ता भने महािधवेशनलाई कसरी सभ्य र भव्य बनाउने भन्नेतर्फ लागेको अवस्थामा पार्टीको नेतृत्व गर्नेहरु गुट–उपगुटमा लाग्नु पार्टीलाई कमजोर बनाउने काम भएको बताउनुुहुन्छ ।

उहाँले काँग्रेसले मुलुकमा संविधान जारी गरी सबैभन्दा जेठो पार्टीको भूमिका निर्वाह गरेको अवस्थाम यसको कार्यान्वयनका लागि काँग्रेसमा एकबद्ध भएर आउन सकेमा मात्र सकारात्मक सन्देश जनतामा जाने विचार राख्नुभयो ।

देशलाई उन्नतिको बाटो लैजाने अभिभारा काँग्रेसको भएकाले नेतालाई एक भएर आउन उहाँले आग्रह गर्नुभयो । विगत ५६ वर्षदेखि काँगे्रसको आस्थामा बस्दै आउनुभएको झापाका ७८ वर्षीय जितबहादुर पुरीले गुट–उपगुट पार्टीका लागि नराम्रो भएको बताउँदै पटकपटक नेताहरुसँगको भेटमा एकताको कुरा उठाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो—‘‘अहिले पनि तरुणको एक समूह एक नेतालाई मिलाउन लागेको छ तर नेताहरु पनि मिल्ने पक्षमा नै छैनन् यो पार्टीका लागि दुःखद पक्ष हो ।’’

उहाँले पार्टीभित्र एकता र मेलमिलापको खाँचो रहेकाले नेताहरुबाट नै मेलमिलापको सुरुवात गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।

बर्दियाबाट महामधिवशेनमा भाग लिन आउनुभएकी महाधिवेशन प्रतिनिधि कालिका विष्टले नेताहरु समूहगत रुपमा आउँदा आफूलाई कुन नेता छान्ने भन्ने विषयमा अन्योल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“नेताहरु मिल्दैनन् हामी कार्यकर्तालाई गाह्रो छ सबै नेता पार्टीका लागि आवश्यक छन्, एक छान्ने अर्काेलाई छाड्नै सकिँदैन । नेताहरु नमिलेर एक नेताको पछि लाग्न बाध्यात्मक आस्था बनाएका छन् । एक थरी कार्यकर्ता नेताहरु मिलेर आउनुपर्ने धारणा राखिरहेका समयमा अर्का थरी कार्यकर्ता भने मन मिल्ने नेताहरु समूहगत रुपमा आउनुलाई स्वाभाविक ठान्दछन् ।”

डा रणबहादुर रावलले लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको अभ्यास गर्ने क्रममा नेपाललाई उन्नत बनाउनु उद्देश्यले समूहमा आउनुलाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–“देशको तीनवटा ठूला आन्दोलनको नेतृत्व गरेको पार्टीमा लोकतान्त्रिक अभ्यासका क्रममा सकारात्मक रुपमा समूहमा आउनुलाई खासै चर्चाको विषय बनाउनु हँुदैन ।’’

यस्तै विचार छ १३औँ महासधवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहनुभएका मोहनबहादुर बस्नेतको पनि । उहाँले हरेक सङ्घसंस्थामा मन मिल्नेहरु समूहगत रुपमा आउने परम्परा रहेकाले यसलाई खासै ठूलो विषय बनाउन नहुने बताउनुभयो ।

समूहगतरुपमा आउँदा पार्टीको मयार्दा र गरिमामा ठेस पुग्न नहुने बताउँदै उहाँले सबैलाई स्वस्थ प्रतिस्पर्धा गर्ने अधिकार रहेकाले हरेक लोकतान्त्रिक मुलुकमा यस्तो अभ्यास रहेको नेता बस्नेतले बताउनुभयो ।

अधिवेशनमा बाहिरी जिल्लाबाट आएका अधिकांश कार्यकर्ताले पार्टीका शीर्षनेताहरु मिलेर आएमा गाउँस्तरसम्म फैलँदै गएको गुटबन्दीको लहरको अन्त्य हुन धारणा राखेका छन् । सबै नेता पार्टीका लागि आवश्यक भएकाले मिलेर आउन उनीहरुले शीर्षनेतालाई अपिल गरेका छन् । कल्पना पौडेल/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts