काठमाडौैँ, १९ फागुन । प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मकवानपुर क्रिकेट क्लब ‘हेटाँैडा’ र न्यू होराइजन क्रिकेट क्लब ‘बुटवल’ विजयी हँुदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा मकवानपुरले नक्षत्र क्रिकेट क्लब ‘नुवाकोट’लाई २ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मकवानपुरले नक्षत्रलाई १३१ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नक्षत्र १७ ओभरमा १२८ रन जोड्दै अलआउट भयो । त्यसअघि मकवानपुरले १७ ओभरमा आठ विकेट गुमाउँदै १३० रनको योगफल तयार गरेको थियो ।
मकवानपुरका ब्याट्सम्यान रविन गुरुङले सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै साहिल कंसाकरले १९, सुमन सुनुवारले १५ तथा मनिराज पौडेलले ११ रन जोडे । उता नक्षत्र क्रिकेट क्लबका ब्याट्सम्यान रविन चन्दले ३१, राजेश रिमालले १८, हरि शङ्करले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
नक्षत्र क्रिकेट क्लबलाई १२८ रनमा समेट्न क्रममा मकवानपुरका विशाल मण्डलले तीन, रामनरेश गिरीले दुई तथा रिजन ढकाल र रविन गुरुङले समान एक÷एक विकेट लिए ।
आजै भएको दोस्रो क्वार्टर फाइनल खेलमा न्यू होराइजन बुटबलले विराट क्रिकेटलाई ९ विकेटले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराट क्रिकेटले १३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३८ रन बनायो ।
विराटले दिएको ३९ रनको झिनो लक्ष्यलाई पछाएको न्यू होराइजनले ५ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । विराटका ब्याट्सम्यान सन्दीप सुनुवार १८ रनमा आउट भए भने निर्मल थापाले ७ तथा नुरदोज सेनले नटआउट तीन रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको विराट क्रिकेटका ब्याट्सम्यान मनोज मण्डलले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । विराटलाई ३८ रनमा समेट्ने क्रममा न्यू होराइजनका सुसन भारी एक्लैले ४ विकेट लिए भने धीरज शाहीले ३, देवेन्द्र सुमारे २ तथा गणेश गौतेलले एक विकेट लिए ।
काठमाडौँ क्रिकेट सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधि विजेता टोलीले रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पाउनेछन् । रासस
No comments:
Post a Comment