Tuesday, April 12, 2016

प्रमको सन्देशः जनताका पीडाले मलाई पनि भित्रभित्रै पोल्छ : प्रधानमन्त्री

 २२) सञ्चार सञ्जालको लागि दुई छिमेकीसँग अप्टिकल फाइवर, ब्रोड व्याण्ड इन्टरनेट सेवा मार्फत हेभी डेटा प्रसारण अब संभव हुनेछ । इ–कमर्स, इ–गवरनेन्स या डिजिटल नेपाल भनिने गरिएको विद्युतीय माध्यमबाट हुने कारोवार र छरितो प्रशासन हाम्रो प्राथमिकतामा रहनेछ ।

२३) आर्थिक विकासबाट समृद्धि हामीले भन्दै आएका छौं । दिगो समृद्धिका निश्चित आधार छन् भन्ने म ठान्दछु । देशका जाँगरिला युवाले प्रवासको रोजगारीबाट आर्जन गरेको रेमिट्यान्स र त्यसमा आधारित उपभोग आधारित समृद्धि हाम्रो लक्ष हैन । हाम्रो लक्ष भनेको आत्मनिर्भतामा आधारित समृद्धि हो । आर्थिकरूपमा सबल नागरिकहरुले मात्रै सही अर्थमा अधिकारको उपयोग गर्न सक्छन् । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्छन् । यसका लागि हाम्रो संविधानले व्यवस्था गरे अनुरूप सार्वजनिक–सहकारी– र निजी क्षेत्र आधारित अर्थतन्त्रको सन्तुलित विकास हुनुपर्छ । लगानी र प्रतिफल दुबैमा जनताको पहुँच हुनुपर्छ । यसैका माध्यमबाट विद्यमान असन्तुलित उत्पादन सम्बन्ध फेरिन्छ । राज्यको सहजीकरणमा धनीलाई धनी हुन नरोक्ने, तर धनी र विपन्न बीचको आम्दानीको खाडललाई साँघुरो पार्दै लैजान सकिन्छ । यस सन्दर्भमा हामीले जनताको लागानीमा जलविद्युत जस्ता विषयलाई जोड दिनेछौं ।

२४) मलाई लाग्छ, आयुको हिसाबले मानिसलाई ३ खण्डमा विभक्त गर्न सकिन्छ – बाल्यकाल, सक्रिय उमेर र वार्धक्य । पहिलोलाई सर्वकालिक सामाजिक सुरक्षाको माध्यमबाट शिक्षा र स्वास्थ्यमा समान हक दिनुपर्छ । सरकारका आगामी नीति तथा कार्यक्रममा यी विषयहरुमा केही ठोस नयाँ योजनाहरु प्रस्तुत गर्ने मैले सोचेको छु । यसले सक्रिय उमेर समूहमा रोजगारीमा सामेल हुन सहज गर्छ । उचित ज्याला र उच्च उत्पादकत्वको माध्यमबाट क्रियाशील युवा उमेरलाई सम्मानजनक श्रम र सुखी जीवन दिन सकिन्छ । वार्धक्यमा सक्रिय उमेरमा आफैंले जम्मा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषका माध्यमबाट आजीवन पेन्सनको व्यवस्था गर्न सकिन्छ । कतिलाई लाग्छ, के यो संभव छ ? मेरो प्रश्न छ, हामी जस्तै आय समूह भएका मुलुकहरु यही प्रकृयाबाट कल्याणकारी राज्यमा रूपान्तरित भए भने हामीकहाँ किन संभव हुन्न ?

२५) हाम्रा विज्ञहरुले दिनु भएको आँटका आधारमा आगामी एक वर्षभित्र केही आधारभूत विषयमा आत्मनिर्भर हुने छौं भन्नेमा म आशावादी छु । केही आधारभूत खाद्यबस्तु, आधारभूत स्वास्थ्य सेवा र ऊर्जामा आत्मनिर्भरता मेरा प्राथमिकता क्षेत्र हुन् । आधारभूत खाद्यवस्तु भन्नाले हाम्रा दैनानुदिन प्रयोगमा आउने खाद्यबस्तु हुन् । उपकरण, औषधि र सेवा सहितको स्वास्थ्य आत्मनिर्भर हुने आधारभूत स्वास्थ्यसेवा हो । ऊर्जाको साधनमा हामी आत्मनिर्भर हुन्छौं, घरायसी प्रयोगका ऊर्जामा त हामी छोटो अवधिमै पेट्रोलियम पदार्थलाई विस्थापित गर्नेछौं ।

२६) जसले सपना देख्न छोड्छ, त्यसको प्रगतिको विराम त्यहीं लाग्छ। मैले देखेको सपना रेट्रोफिटिङमा अडेको गाउँ, बस्ती र शहर हैन– सुविधायुक्त स्मार्ट सिटी हो । मैले हाम्रा योजनाविदहरुलाई दर्जनभन्दा माथि स्मार्ट सिटी, र आधुनिक नेपालको राजधानी भन्न लायक काठमाडौंको नक्सा कोर्न आग्रह गरेको छु । हाम्रा यी सपना, विस्तृतरूपमा सरकारको भावी नीति तथा कार्यक्रमले बोल्नेछ । र, त्यो सपनालाई मूर्तता दिन नयाँ बजेट निःसन्देह माध्यम हुनेछ ।

२७) लोकतन्त्रका लागि चार जना प्रातःस्मरणीय सहिदहरूले हाँसीहाँसी मृत्यु अँगालेको ७५ वर्षपछि संविधान घोषणा भएको छ । अधिकार प्राप्तिको आन्दोलन आधारभूतरूपले टुङ्गिएको छ । तर एउटा पीडाले तपाईंहरूलाई जस्तै मलाई पनि भित्रभित्रै पोल्छ– मुलुकमा यति ठूला राजनीतिक परिवर्तन आए तर जनताको दुःख उस्तै छ । सबै राजनीतिक दल र मित्रहरूलाई म आग्रह गर्छु– अब राष्ट्रको हित र जनताको समृद्धिको लक्षमा केन्द्रित बनौं । प्रतिस्पर्धा, आवधिक निर्वाचन र सरकारका विषय लोकतन्त्रका चरित्र नै हुन्, ती हुँदै रहन्छन् । तर राष्ट्रको समृद्धि र जनताको श्रीवृद्धि भने स्थायी र साझा विषय हुन् । परिस्थिति फेरिन्छ । सन्दर्भहरु फेरिन्छन् । राजनीतिक नेतृत्वले तदनुरुप नै आफूलाई परिमार्जन गरी अद्यावधिक र समयानुकूल नेतृत्व दिन सक्षम तुल्याउनुपर्छ । दलहरू बढी आत्मकेन्द्रित भए र आन्दोलनको धरातललाई राजनीतिक नेतृत्वले दिनुपर्ने ध्यान दिन सकेनन् भन्ने जनताका गुनासा मननीय छन् भन्ने मलाई लाग्छ । त्यसैले अब नयाँ राजनीतिक संस्कृतिको विकास गर्ने बेला भइसक्यो । हामी मिलेर मात्रै संविधान निर्माण संभव भएको थियो । यसको कार्यान्वयनका लागि पनि वृहत्तर राष्ट्रिय समझदारी आवश्यक छ वर्तमान सरकारका तर्फबाट म पुनः सहमतिका लागि सकारात्मक योगदान गर्न सबैलाई आह्वान गर्छु ।
सुन्दर, शान्त र संमृद्ध नेपाल निर्माणका लागि सबै देशवासीमा पुनः एकपटक सम्बत् २०७३ को हार्दिक मंगलमय शुभकाना ।

धन्यवाद !
३० चैत २०७२
अप्रिल १२, २०१६
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts