काठमाडौँ, ३० चैत । भारतको इन्दौरमा भएको ‘तेस्रो एसियाली खोखो च्याम्पियनसीप २०१६’ र भारतको गुआहाटीमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुदमा कास्य पदक प्राप्त गर्न सफल खेलाडीलाई नेपाल खो–खो सङ्घले सम्मान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले खेलाडीलाई प्रमाणपत्रसहित सम्मान गर्नुभयो । यही चैत २६ देखि २८ सम्म भारतको इन्दौरमा भएको खो–खो प्रतियोगितामा नेपाली महिला तथा पुरुष टोलीले श्रीलङ्कालाई पराजित गर्दै तेस्रो स्थान हात पारेका थिए । दुवै टोली सेमिफाइनलमा बङ्गलादेशसँग पराजित भएका थिए ।
लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा नेपाली टोली लिग चरणमा भारत र बङ्गलादेशसँग पराजित भएको थियो भने श्रीलङ्का र दक्षिण कोरियालाई पराजित गर्न सफल भएको थियो । कास्य पदक प्राप्त दुवै टोलीले जनही २१÷२१ हजार भारतीय रुपैयाँका साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा महिलातर्फ अर्पण महतो र पुरुषतर्फ मिलन रोय उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद पाँच हजार भारतीय रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।
खेलकुदमन्त्री मण्डलले १२औँ दक्षिण एसियाली खेलकुद (साग) र एसियाली खेलकुदमा कास्य पदक प्राप्त गर्न सफल खो–खो खेल परिचित खेल भएको बताउँदै अब राष्ट्रपति रनिङ शिल्डमा यस खेललाई समावेश गर्न आफ्नातर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
––––––––
No comments:
Post a Comment