धनगढी, २५ चैत । कैलालीको टीकापुर बजार क्षेत्रमा सडक र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका झण्डै ५०० खोका छाप्रा हटाइएको छ ।
इलाका प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय राजनीतिक दल र सर्वसाधारणको संयुक्त पहलमा अतिक्रमण हटाइएको हो ।
अतिक्रमित क्षेत्रमा बसेर व्यापार व्यवसाय गरिरहेकालाई नजिकैको टीकापुर अस्पतालको स्वामित्व रहेको खाली जग्गामा बसालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । मासिक रुपमा भाडा बुझाउने गरी खोका छाप्राका व्यापारीलाई अस्पतालको जग्गामा बसालिएको बताइएको छ ।
टीकापुर बजार क्षेत्रको कान्छी बजार, खडक चोक, नगरपालिका कार्यालय, उद्योग वाणिज्य सङ्घको कार्यालय र तरकारी हाटबजार क्षेत्र वरपरका सडक अतिक्रमण गरी वर्षौदेखि खोका छाप्रामा व्यापार व्यवसाय हुँदै आएको थियो ।
सडक र सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै जाँदा ट्रफिक व्यवस्थापनका साथै टीकापुर बजारको सुन्दरतालाई नै विगार्ने गरी विभिन्न समस्याहरु देखिन थालेका थिए ।
तत्कालीन मन्त्री खड्कबहादुर सिंहको पहलमा टीकापुरलाई देशकै नमुना सहर बनाउने प्रयास स्वरुप व्यवस्थित रेखाङ्कन गरिएको थियो । व्यवस्थित र नमुनाको रेखाङ्कन गरिएपनि टीकापुर बजारका कतिपय सडकहरु अझैसम्म कालोपत्र हुन सकेको छैन । रासस
No comments:
Post a Comment