Wednesday, April 6, 2016

डा प्रधानको स्वास्थ्य सेवाको अनुभव

चितवन, २५ चैत । गाउँगाउँबाट बिरामी खोजेर सुरु गरिएको भरतपुर अस्पतालमा अहिले थामिनसक्नु बिरामी भएको देख्दा यसका संस्थापक डा हिरण्यदेव प्रधान खुसीले प्रफुल्लित हुनुभयो । विसं २०१३ मा उहाँकै अगुवाइमा हेल्थ सेन्टरबाट विकास गरी अस्पताल बनाइएको थियो ।

डा प्रधान त्यतिबेला अस्पतालका प्रमुख हुनुहुन्थ्यो । सिनियर मेडिकल अधिकृत पद सम्हाल्नुभएका प्रधानका सहयोगी दुईजना सहायक स्वास्थ्यकर्मी थिए । चौबीस वर्षपछि बुधबार साँझ छोराको सहारामा चितवन आइपुग्नुभएका ८६ वर्षीय प्रधानले आज बिहान पत्रकारमाझ भन्नुभयो – “हामीले बिरामी नपाएर गाउँ गाउँबाट बिरामी ल्याएर उपचार गर्दथ्यौँ, अहिले यति धेरै बिरामी आउँदा रहेछन् ।” मेडिकल काउन्सिलका अध्यक्षसमेत भइसक्नुभएका प्रधान नेपालको १७औँ डाक्टर हुनुहुन्छ । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो – “त्यतिबेला सिक्टीको छाप्रोमुनि बिरामी जाँच्ने गरिन्थ्यो । भर्ना हुन धेरै मान्दैनथे, समातेर प्रेसर नाप्नु पथ्र्याे ।”

सिक्टीको घना झाडी, साना बुट्यान भएकाले अमेरिकी नियोगको परियोजनाको जिप लिएर गाउँ गाउँसम्म बिरामी लिन जाने गरेको उहाँको अनुभव छ । जिपमा बन्चरो राखेर बाटो बनाउँदै हिँड्नु पर्ने त्यतिबेला जिल्लामा थारु, कुमाल बस्ती थिए भने अहिलेको नारायणगढमा बन्दीपुरबाट झरेका चार घर नेवार साहुमात्रै थिए । सिक्टीको झाडीभित्र भालुको बिगबिगी भएको अनुभव सुनाउँदै उहाँले अमेरिकन परियोजनाले बाँडेको एब्लोकियर औषधिका कारण औलोको त्रास कम भए पनि झाडापखाला, खटिरा, लुतो आउने समस्या भने निकै हुने गरेको बताउनुभयो ।

पछिल्लो समय डाक्टरहरु पैसामुखी भएकामा निकै चिन्ता व्यक्त गर्दै उहाँले सेवामुखी हुन आग्रह गर्नुभयो । हालैमात्रै नातिनीले रु ३२ लाख तिरेर मेडिकल अधिकृत पढ्दै गरेको बताउँदै डा प्रधानले महँगो शुल्क तिरेर पढेकै कारण डाक्टर पैसामुखी भएको उहाँको अनुमान छ । “एउटै ल्याबबाट डाक्टरले मासिक रु एक लाख ५० हजारभन्दा बढी कमिसन लिने गरेको सुनेको छु, यो टेस्ट गर, त्यो टेस्ट गर भन्छन्, जनतालाई दुःख दिनु राम्रो होइन ।”

भारतको कलकत्तास्थित आरजी कर मेडिकल कलेजमा सुरुमा आफ्नै खर्च र पछि सरकारी शुल्कमा अध्ययन गर्नुभएका प्रधानले त्यतिबेला सरकारले मासिक रु १५० दिएर आफूले अध्ययन गरेको बताउनुभयो ।

वर्षमा नेपाली दुईजनाले सो मेडिकल कलेजमा पढ्न पाउनेमा आफूले अवसर पाएको बताउँदै उहाँले अहिले मेडिकल शिक्षामा ठूलो खर्च भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । २८ वर्षको उमेरमा भरतपुरमा अस्पताल सुरु गर्नुभएका प्रधानले यहाँ एक वर्ष दुई महिना बिताउनुभएको थियो ।
अस्पताल स्थापना हुँदा दैनिक चार पाँचजना बिरामी जाँच्ने गरेको उहाँको अनुभव छ । तर अहिले भरतपुर अस्पतालमा एक वर्षमा एक लाख ५० हजार बिरामीले सुविधा पाउँछन् । जसलाई हेर्दा दैनिक उपचार लिनेको सङ्ख्या ४०० भन्दा माथि छ ।
नेपालको पहिलो आयुर्वेदिक डाक्टर कृष्णदेव प्रधानका छोरा भएकाले उहाँलाई यो क्षेत्रमा आउन प्रेरणा मिलेको बताउनुभयो । अहिलेसम्म आइपुग्दा भरतपुर अस्पतालमा ३६ जना मेडिकल सुपरिटेन्डेन्ट भइसकेका छन् ।

पुराना डाक्टर प्रधान स्थानीय व्यक्तिहरुको सक्रियता अस्पतालमा आवश्यक रहेको बताउनुहुन्छ । त्यसका लागि अस्पताल विकास समिति सक्रिय हुनुपर्ने उहाँको सुझाव छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts