काठमाडौँ, २७ चैत । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहकारीको माध्यमबाट गरिबी तथा बेरोजगारी समस्या समाधान गरिने बताउनुभएको छ ।
जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै मन्त्री राईले सहकारीको माध्यमबाट गरिबी र बेरोजगारी समस्या समाधान गर्न आगामी बजेटमा विशेष कार्यक्रम ल्याउने सरकारको योजना रहेको बताउनुभयो ।
सांसद उमेश श्रेष्ठ र पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले सहकारीहरूले कृषि, पर्यटन, उद्योग र जलस्रोतलगायतका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष सिलोनबाबु श्रेष्ठले भूकम्प र नाकाबन्दीले आक्रान्त मुलुकको नवनिर्माण गर्नुपर्ने राष्ट्रिय दायित्वलाई सघाउन सामूहिक लगानीद्वारा उत्पादनमूलक परियोजनाहरू सञ्चालन गरी गरिबी र बेरोजगारी समस्या न्यूनीकरण अभियानमा सहभागी हुन सबैलाई अपिल गर्नुभयो ।
साधारणसभाले सिलोनबाबु श्रेष्ठ अध्यक्ष रहेको पुरानै कार्यसमितिलाई निरन्तता दिएको छ ।
राष्ट्रको गरिबी र बेरोजगारी समस्या न्यूनीकरण गर्ने उद्देश्यले २०६६ सालमा स्थापना गरिएको सहकारीले भूकम्पपीडित, असहाय तथा गरिबलाई विभिन्न समयमा आर्थिक सहयोगसमेत गर्दै आएको छ । रासस
No comments:
Post a Comment