जुम्ला, १७ वैशाख । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ नेतृत्वको संसदीय टोलीले स्थलगत आज यहाँ अनुगमन गरेको छ ।
सभापति श्रेष्ठ नेतृत्वको आठ सदस्य टोलीले कर्णाली राजमार्गअन्तर्गतका नौ गाविसमा अनुगमन गरेको हो । सो टोलीले जिल्लाका लाम्रा, तातोपानी, कुडारी, रारालिही, महावैपाथरखोला, कालिकाखेतु, बड्की, शनिगाउँ र नराकोट गाविसको स्थलगत अनुगमन गरेको छ ।
शान्ति तथा पुनःनिर्माण परियोजनाअन्तर्गत यस जिल्लामा भएका काम कारबाहीको स्थलगत अनुगमन एवम् सुपरीवेक्षण गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोलीले द्वन्द्वपीडितको अवस्थाका बारेमा जानकारी लिनुका साथै डर, त्रासका कारण सत्य निरुपण तथा मेलमिलाप आयोग र द्वन्द्वपीडित छानबिन आयोगमा आफ्नो उजुरी दिन नसकेकालाई दिन लगाउन उत्साहित गर्ने बताउनु भयो ।
त्यसका साथै तत्कालीन द्वन्द्वको क्रममा ध्वस्त भएका संरचनाको पुनःनिर्माणका लागि यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको मातहत निर्माण भएका संरचनाको पनि अनुगमन गरिएको थियो ।
टोलीले अनुगमनको विस्तृत कार्य शनिबार जिल्लामा सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस
No comments:
Post a Comment