बागलुङ, २४ चैत । बागलुङ बोवाङ–९ ढोरपाटनमा बस्दै आएका तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ ।
शिविरमै पुगेर जिल्ला प्रशासन कार्यालय बागलुङले ६० जना शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो । छपन्न वर्षदेखि ढोरपाटनमा बस्दै आएका शरणार्थीको आगामी २०७३ चैत मसान्तसम्मलाई परिचयपत्र नवीकरण भएको छ ।
प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीले शरणार्थी परिचयपत्र नवीकरण गर्नु भयो । प्रत्येक वर्ष परिचयपत्र नवीकरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले बताउनुभयो । उहाँका अनुसार बर्सेनि परिचयपत्र नवीकरण गर्ने शरणार्थीको सङ्ख्या घट्दै गएको छ । गत वर्ष ६५ जनाले परिचयपत्र नवीकरण गरेका थिए ।
विसं २०१६ मा शरणार्थीका रुपमा ढोरपाटन पुगेका तिब्बती शरणार्थीको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । सुरुका वर्षका शरणार्थीको सयौँ घरपरिवार ढोरपाटनमा बस्ने गरेकामा अहिले सो सङ्ख्या घटेर ५० पुगेको छ । तिब्बती शरणार्थी झ्याम्पा गुरुङले अहिले ढोरपाटनमा करिब २०० जति शरणार्थीको सङ्ख्या रहेको बताउनुभयो । शिविर परिवर्तन, विदेश पलायन र सहरी क्षेत्रमा बसोबासका कारण ढोरपाटनमा शरणार्थी घटेका हुन् ।
सरकारले ढोरपाटनमा शरणार्थी बसोबासका लागि अस्थायी जग्गा व्यवस्थापन गरेको छ । दशकौँदेखि बस्दै आएका शरणार्थीले आफ्नै मेहनतमा घर बनाएर बसेका छन् । आफ्नै संस्कार र संस्कृति अवलम्बन गर्दै आएका शरणार्थी आफूहरुलाई ‘नेपाली’नै भन्न रुचाउँछन् । स्थानीय नेपाली समुदायसँग सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा घुलमिल भएर बसेका शरणार्थीले नेपाली नागरिकताको माग गर्दै आएका छन् ।
नागरिकता नहुँदा कागजात नबनेर रोजगारीका लागि विदेश जान नपाएको गुनासो उनीहरुको छ । ढोरपाटनमा आलुबाली नै उनीहरुको मुख्य आयस्रोत हो । त्यसबाहेक सहरी क्षेत्रमा पुगेर श्रम र रोजगारी गरेर शरणार्थीले जीविका चलाउने गरेका छन् । रासस
No comments:
Post a Comment