इनरुवा, २८ चैत । सुनसरीको भोक्राहा गाविसमा शनिबार दिउँसो भएको भीषण आगलागीका कारण घरबारविहीन बनेका २० परिवारका अग्निपीडितलाई मुस्लिम व्यापार मञ्च सुनसरीले राहत वितरण गरेको छ ।
आगलागीका कारण घर जलेर नष्ट भएको र खाद्यान्नसमेत जलेकाले भोकभोकै खुल्ला अकाशमुनि बसेका भोक्राहा गाविसका अग्निपीडितलाई मञ्चले राहत सामग्री वितरण गरेको हो ।
शनिबार नै मञ्चले पीडितलाई प्रतिपरिवार पाँच किलो भुजा, एक थान त्रिपाल, खानेतेल, खानेपानीलगायतका सामग्री वितरण गरेको मञ्चका सुनसरी सचिव हजरत हुसेनले जानकारी दिनुभयो ।
आगलागीका कारण घरबारविहीन भएका पीडितलाई थोरै भए पनि राहत महसुस होस् भन्ने उद्देश्यले आफूहरुले शनिबार नै राहत वितरण गरेको मञ्चका अध्यक्ष नइम अन्सारीले जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत अग्निपीडितलाई राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । प्रशासनले अग्निपीडितलाई तत्काल प्रतिपरिवार रु पाँच हजारका दरले राहतस्वरुप रकम प्रदात गर्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले जानकारी दिनुभयो ।
भोक्राहा गाविसमा शनिबार भीषण आगलागी हुँदा २० परिवारका ६० घर जलेर पूर्णरुपमा नष्ट हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको थियो । रासस
––––––
No comments:
Post a Comment