फलेवास (पर्वत), २८ चैत । भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको क्रीडास्थल, विश्व प्रसिद्ध ऐतिहासिक स्थल तिलौराकोटको माटो बोकेर कपिलवस्तुका पत्रकारहरु पर्वत आइपुगेका छन् ।
पर्यटन प्रवद्र्धनका लागि कपिलवस्तुदेखि हिमालपारिको जिल्ला मुस्ताङसम्मको यात्रामा निस्किएका पत्रकार शनिबार पर्वत आइपुगेका हुन् ।
भारतसँग सिमाना जोडिएको र पहाड, मधेस र तराईको वातावरण तथा हावापानी रहेको कपिलवस्तुको धार्मिक तथा पर्यटनको विकास र सम्भावनाको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्लामा क्रियाशील पत्रकारहरुको समूह जिल्लाको भ्रमणमा निस्किएको हो । उनीहरु कपिलवस्तुदेखि रुपन्देही, बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै पर्वत आइपुगेका छन् ।
उनीहरुले भगवान् गौतम बुद्धले टेकेको पवित्र भूमि तिलौराकोटको माटो पर्वतलाई हस्तान्तरण गरे । उनीहरु तिलौराकोट उत्खनन गर्दा निस्किएको माटो बोकेर आएका थिए ।
आफ्नो जिल्लामा भएका पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्ने र अन्य जिल्लामा भइरहेका पर्यटन विकासका कामबारे जानकारी लिई आफ्नो जिल्लामा सुधार गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष वसन्त गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “तराई, पहाड र हिमाली जिल्लाको अवलोकन गर्नका लागि पत्रकारको टोली साताव्यापी भ्रमणमा निस्किएको हो ।”
जिल्ला विकास समिति, कपिलवस्तुको सहयोगमा पर्यटन भ्रमणमा निस्किएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल कपिलवस्तुको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य पनि भ्रमणको रहेको छ । नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको अगुवाइमा भएको उक्त भ्रमणमा जिल्लाका १८ जना पत्रकारको सहभागिता रहेको छ ।
शनिबार पर्वत आइपुगेको उक्त टोलीले उर्जाखोलाका रुपमा रहेको मोदीखोला, नेपालकै अग्लो झोलुङ्गे पुल, यान्त्रिक पुल, कालीगण्डकी नदी, सहस्रधारा, सदरमुकाम कुश्माबजारलगायतको अवलोकन तथा अन्तक्र्रिया गरेर मुस्ताङतर्फ लागेको हो ।
नेपाल पत्रकार महासङ्घ पर्वत र जिविसले आयोजना गरेको स्वागत तथा अन्तक्र्रियामा उनीहरुलाई पर्वतको समग्र वस्तुस्थिति र पर्यटनका बारेमा जानकारी गराइएको थियो । जिविसका पर्यटन फोकल पर्सन चन्द्रबहादुर क्षेत्री, सूचना अधिकृत तुलसीराम शर्माले जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै, कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले पनि जिल्लामा पर्यटनको क्षेत्रमा भइरहेका कामका बारेमा जानकारी गराउनुभयो ।
भ्रमण टोलीको तर्फबाट प्रेस युनियन कपिलवस्तुका अध्यक्ष गोपाल भण्डारीले कपिलवस्तुको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभयो । रासस
–––––––
No comments:
Post a Comment