Sunday, May 1, 2016

आगलागीबाट बस्ती नै सखाप

बलेवा (बागलुङ), १९ वैशाख । शनिबार दिउँसोदेखि भएको आगालागीबाट दक्षिण धुल्लुबास्कोटको एक बस्ती नै सखाप भएको छ ।

धुल्लुबास्कोट– १ भाङ्खर्कबाट फैलिएको आगोबाट वडा नं १ को झुले बस्तीका १३ घर र २४ गोठ जलेर नष्ट भएका हुन् । जङ्गलको बीचमा रहेको बस्तीमा बाँकी आठ घर पनि उच्च जोखिममा छन् ।

तीव्र गतिमा चलेको हावाहुरीसँगै तलबाट आगो फैलिँदै आएकाले बस्ती नै सखाप परे पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ । आगलागीमा परी १३ भैँसी, १४ बाख्रा तथा एक एक गाई र गोरु मरेको स्थानीयवासी सन्तोष दगामीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बरेङका अनुसार आगो नियन्त्रणभन्दा बाहिर रहेको छ । आगो अहिले धुल्लुबास्कोटबाट राङानीको किटेनी बाघकाटेतर्फ फैलिएको छ ।

आगलागी पीडितका लागि प्रहरी, स्थानीय क्लब र आमा समूहले खाना तथा आवासको प्रबन्ध मिलाएको स्थानीयवासी शेखर थापाले बताउनुभयो । किटेनीको घर गोठ पनि जोखिममा रहेकाले आवश्यक सजगता अपनाइएको राङानीबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी टोली र छिमेकी गाउँका बासिन्दा पुगे पनि दिनभर आगो नियन्त्रणमा लिने प्रयास सफल हुन सकेन ।

आगो नियन्त्रण र सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरिएको छ ।
यसैबीच झुलेबस्तीमा भएको घटनाका पीडितलाई राहत सङ्कलन तथा वितरणका लागि बागलुङमा बसेको सरोकार भएकाहरुको बैठकले आजै आकस्मिक राहत वितरण गर्ने निर्णय गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts