वीरगन्ज, १६ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र समावेशिताविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
“सामाजिक न्यायमा आधारित विभेदरहित समतामूलक समाजको स्थापनाका लागि मुलुकमा अहिले पनि राजनीतिक क्रान्ति आवश्यक छ”–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनद्वारा आज यहाँ आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै प्रकारको विभेदको उन्मूलन नभएसम्म मुलुकमा राजनीतिक क्रान्ति जारी रहन्छ ।”
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सबै नेपालीको अधिकार, स्वाभिमान, सम्मान र पहिचानको प्रवद्र्धन नगरेसम्म सङ्घर्ष जारी रहन्छ भन्दै हामीले पनि वार्ता र संवादबाट नै सबै समस्याको निकास चाहेका छौँ, तर त्यसका लागि सरकारले विश्वासको ठोस आधारको सिर्जना गर्नुपर्दछ भन्नुभयो ।
संविधान पुनर्लेखनको ठोस प्रतिबद्धता आए आफूहरु वार्तामा बस्न तयार रहेको बताउँदै उहाँले संविधानबाट विभेदकारी प्रावधान हटाउन आफूहरुले संविधान पूनर्लेखनको कुरा उठाएको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले संविधानमा भएको विभेदकारी व्यवस्था नहटाएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहन्छ भन्दै विभेदकारी व्यवस्था हटाउन संविधान पुनर्लेखन एक मात्र विकल्प रहेको बताउनुभयो ।
गठबन्धनका नेता कुमार लिङ्देनले मधेसी, आदिवासी जनजाति, खस, लिम्बु, मगर, शेर्पा, नेवारसहित सबै उपेक्षित र उत्पीडित समुदायले एकताबद्ध भएर सुरु गरेको आन्दोलनको मागलाई पूरा गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
सभामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनललगायतले पहिचान र अधिकार प्राप्तिको यो आन्दोलनलाई उत्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धता जनाउँदै शान्तिपूर्ण आन्दोलनको शक्तिलाई बेवास्ता नगर्न सरकारलाई चेतावनी दिनुभयो । रासस
No comments:
Post a Comment