त्रिशूली (नुवाकोट), १ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा रामशरण महतले सरकारले समयमा विकास बजेट खर्च गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदासमेत लक्ष्यअनुसारको बजेट खर्च हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।
आज नुवाकोटको बट्टारमा आयोजित दुई तारे होटेल वाटर टावरको उद्घाटन गर्दै डा महतले निर्माण कार्यमा हाल भइरहेको ढिलासुस्तीलाई हटाई छिटोछरितो र राम्रो काम गर्नेलाई पुरस्कार र राजनीतिक संरक्षणमा आलटाल र ढिलासुस्ती गर्नेलाई अविलम्ब कारबाही हुनुपर्ने बताउनुभयो ।
डा महतले संविधान कार्यान्वयन र आर्थिक विकासका लागि राजनीतिक दलबीच नयाँ सहमति जरुरी रहेको समेत औँल्याउनुभयो ।
अर्थमन्त्री डा महतले सरकारको नीति तथा कार्यक्रम महत्वाकाङ्क्षी रहेकाले कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभयो । डा महतले भूकम्पपीडित नागरिकलाई राहत पुग्ने र पुनःनिर्माणलाई सहयोग पुग्ने गरी नयाँ बजेट तयार गर्न सुझावसमेत दिनुभएको छ ।
हिमनदी पर्यटन सहकारीले सञ्चालन गरेको होटेलको उद्घाटनमा विभिन्न क्षेत्रका व्यक्तिले सफलताको कामना गरेका थिए । बट्टारको बसपार्क रोडमा रहेको होटेल चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने रु ११ करोडको लगानीमा सञ्चालन भएको सहकारीका सचिव हिमान्चल भट्टराईले जानकारी दिनुभयो । रासस
––––––––
No comments:
Post a Comment