रौतहट, १७ जेठ । चन्द्रपुर नगरपालिकास्थित शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा आजदेखि गणेशमान स्मृति टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
स्थानीय सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा मुलुकका १६ क्रिकेट टोलीको सहभागिता छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गर्दै मुलुकमा अन्य क्षेत्रको तुलनामा खेलकुद क्षेत्रको अपेक्षाकृत रुपमा विकास हुन नसकेको बताउनुभयो ।
जिल्लामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख १० हजार र द्वितीय हुनेले रु ५५ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेलमा आयोजक सरस्वती युवा क्लब चपुर ८० रनले विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । सरस्वतीका लागि सुनिल धमला ४७ रन, अक्सर चौधरी ७९ रन र हेमन्त सिंहले अविजित ४३ रन बनाएका थिए । एक सय ९३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गर्न उत्रिएको सर्लाही टोलीले पूरा ओभरमा ७ विकेट गुमाएर एक सय १२ रन मात्र बनाएको थियो ।
सरस्वतीका तर्फबाट जितेन्द्र मुखियाले दुई विकेट लिएका थिए । ‘म्यान अफ द म्याच’ अक्सर चौधरी भए । मङ्गलबारको खेल चितवन र मकवानपुर तथा गरुडा र वीरगन्ज टोलीबीच हुनेछ । रासस
No related posts.
No comments:
Post a Comment