बागलुङ, १९ वैशाख । बगाले थापा क्षेत्रीका आदि पुरुष कालु थापाको सालिक बागलुङमा बन्ने भएको छ ।
मल्म–८ स्थित सात सय बगाले थापा कुल मन्दिर परिसरमा थापाको अर्धकदको सालिक बनाउन लागिएको हो । सालिकको यसै साता पोखरास्थित फेवा सिटी अस्पतालका प्रमुख चिकित्सक बुद्धिबहादुर थापाले शिलान्यास गर्नुभयो ।
रु पाँच लाखको लागतमा ढुङ्गाबाट बन्ने सालिक आगामी डेढ वर्षभित्र निर्माण पूरा गरिने सालिक निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो ।
विसं १२०० मा तत्कालीन डोटी राज्यको राजा हुँदै सिंजा राज्यको राजा बन्नुभएका कालु बगाले थापा क्षेत्रीहरुका कुल पुरुष मानिनुहुन्छ । ‘हाम्रो बगाले थापाहरुको प्रथम कुल पुरुष कालु थापा हुनुहुन्छ, अमरसिंह थापा, भीमसेन थापा पनि उहाँकै सन्तान हुनुहुन्छ’ अध्यक्ष थापाले भन्नुभयो ‘आफ्नो कुल, वंशजको पहिचानका लागि पनि सालिक बनाउन आवश्यक ठानेर बनाउन लागेका हौँ ।’
कालु थापा शुभकन्या थापाका सुपुत्र हुनुहुन्थ्यो । उहाँका माहिला छोरा तारापतिले पछि म्याग्दी जिल्लाको ताकममा आएर राज्य सञ्चालन गरेको इतिहास छ । सिँजा क्षेत्रबाट म्याग्दीको ताकम हुँदै देशका विभिन्न भागमा बगाले थापा क्षेत्रीहरुले छरिएर बसोबास गर्न थालेको इतिहासमा उल्लेख छ ।
सालिक शिलान्यासका क्रममा चिकित्सक थापाले मन्दिरका लागि रु एक लाख उहाँका छोरा चिकित्सक सुरेशले रु ५० हजार, मदन थापाले रु २५ हजार र अर्का पोखरेली थापा बन्धु नरबहादुर थापाले रु ११ हजार सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रामबहादुर थापा
No comments:
Post a Comment