काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
एमाले काठमाडौँ क्षेत्र नं ६ को दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै सचिव भट्टराईले संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेकाले अबको आर्थिक समृद्धिको कार्यभार एमालेले मात्र पूरा गर्नसक्ने भएकाले यसलाई पहिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
भट्टराई गत संविधानसभा निर्वाचनमा सोही क्षेत्रका उम्मेदवार पनि हुनुहुन्थ्यो । एमालेलाई आन्तरिक रुपमा एकताबद्ध बनाई जनताको बहुदलीय जनवादको विचारलाई जनसमक्ष लोकप्रिय बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठ, सावित्रा भुसाल, एमाले काठमाडौँका जिल्ला अध्यक्ष कृष्ण राईलगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो । अधिवेशनमा विभिन्न माओवादी पार्टीहरुबाट महेन्द्र प्रजापतिसहित करिब ७५ जना एमालेमा प्रवेश गरेको क्षेत्रीय कमिटीका प्रचार विभाग प्रमुख प्रेमराज सिलवालले जानकारी दिनुभयो ।
अधिवेशनमा कुल प्रतिनिधि १९० छन् । कमिटीको नयाँ नेतृत्वका लागि प्रकाश अधिकारी र लव बस्नेतको समूहले मनोनयन दर्ता गरेको छ ।
यसैबीच, नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ वैचारिक प्रशिक्षणको कार्यक्रम सम्पन्न गरेको छ । एमाले स्थायी कमिटीका शङ्कर पोखरेलले प्रशिक्षण दिनुभएको थियो । रासस
No comments:
Post a Comment