काठमाडौँ, ३० जेठ । केही वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१औँ अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
मोहनले एडमन्ड युनसँग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अङ्क बटुलेका थिए ।
यो स्पर्धामा मोहनले लगातार तेस्रोपटक स्वर्ण जितेका हुन् । भिक्टोरियन जुडो टोलीको प्रतिनिधित्व गरेका मोहनले २०१४ र २०१५ को अस्ट्रेलियाली राष्ट्रिय जुडोमा पनि स्वर्ण जितेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।
भिक्टोरियास्थित गिलोङ स्पोर्टस् एरिनामा भइरहेको प्रतियोगितामा मोहनले ६० केजी तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यसमा मोहन पाँचौँ स्थानमा रहेका थिए । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
मोहनले गत वैशाखमा नेपाल जुडो सङ्घमार्फत १२औँ दक्षिण एसियाली खेलकुद (साग)को जुडोमा स्वर्ण जितेकी फपुल्हामू खत्रीलाई रु २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनिता श्रेष्ठ प्रधानलाई रु पाँच÷पाँच हजार नगद पुरस्कार प्रोत्साहनस्वरुप उपलब्ध गराउनुभएको थियो ।
भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न
भारोत्तोलनको आइओसी ओलम्पिक सोलिडारिटी कोर्ष आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
सहभागीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष एवम् ओलम्पियन सुरेन्द्रबहादुर हमाल, नेपाल भारोत्तोलन सङ्घका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभयो ।
एनओसीको सहयोग तथा भारोत्तोलन सङ्घको आयोजनामा चारदिने कोर्षमा विभिन्न १६ जिल्लाका ३९ प्रशिक्षक सहभागी थिए । सहभागीलाई अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घका विज्ञ अलामस्या विजयाले प्रशिक्षण दिएका थिए ।
इन्डोनेसियाका विजयाले बायो मेकानिक्स, न्युट्रिसन, प्रशिक्षण विधि, कार्यालय व्यवस्थापन, परिवर्तित नियमलगायतका विषयमा जानकारी गराउनुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment