काठमाडौँ, ३० जेठ । विभिन्न कलाकारले बनाएका शान्ति र सद्भावसम्बन्धी चित्रकला प्रदर्शनी आजदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको छ ।
हिमालयन कला तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा तीन दिनसम्म चल्ने प्रदर्शनीमा ७२ कलाकारले बनाएका ७७ चित्र राखिएका छन् जसमा चर्चित कलाकार किरण मानन्धरदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायका चित्रकलासम्म समावेश छन् । त्यस्तै, शशीविक्रम शाह, शङ्कर सुवाल, केके कर्माचार्य, सुरक्षा वाग्लेलगायतको यथार्थवादी शैलीमा सिर्जना गरिएका चित्र प्रदर्शनीमा छन् ।
त्यसैगरी, शान्ति र सद्भाव झल्किने हेतुले भगवान् बुद्धका विभिन्न आकृति समावेश गरेर बनाइएका चित्रसमेत प्रदर्शनीमा छन् जसमा रहेका बुद्धका आँखा, अनुहार, बौद्ध स्तुप, भिक्षु, शान्तिको प्रतीक परेवा, घन्ट, मठ–मन्दिर, भूदृश्यले शान्तिको सन्देश दिएको भान हुन्छ भने त्यहाँ समावेश मिथिला कलाले देशको विविधता झल्काएको छ ।
प्रदर्शनीमा राखिएका चित्र बिक्रीबाट उठेको सबै रकम दोलखाको गैरीमुदीमा ग्रामीण ललितकला केन्द्र स्थापना गर्न खर्च गरिने प्रतिष्ठानका अध्यक्ष तथा प्रदर्शनी संयोजक उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले लतितकला तथा चित्रकला राजधानीमा जस्तै राजधानीबाहिर पनि विस्तार हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “म दोलखा आएको बेला त्यहाँ ललितकला केन्द्र स्थापना भएको देख्न पाऊँ ।”
कार्यक्रममा विभिन्न कलाकारले ‘अन द स्पट’ चित्र कोरेका थिए भने गायक शिशिर योगीले शान्ति र सद्भावसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो । रासस
––––––––
No related posts.
No comments:
Post a Comment