इलाम, २६ जेठ । इलामको साङ्रूम्बा–८ स्थित देउबहादुर रायको घरमा आज दिउँसो भएको आगलागीका कारण घर पूर्णरूपले जलेर नष्ट भएको छ ।
दिउँसो घरमा कोही नभएको अवस्थामा भएको आगलागीले नगद, सुनका गरगहना, लत्ताकपडा, अन्नबाली, शैक्षिक प्रमाणपत्र, कम्प्युटर, टेलिभिजनलगायत घरभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको हो ।
एक्कासि आगो दन्किएपछि केही पनि सामान निकाल्न नसकिएको देउबहादुरले बताउनुभयो । दुईतले घर र सँगै रहेको मिल पनि जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरे पनि सफल हुन सकेन् ।
देउबहादुरका अनुसार आगलागीबाट घरसहित रु १५ लाखभन्दा धेरैको क्षति भएको छ । घरमा कोही पनि नरहेको र खाना पकाउन पनि गोबरग्यासको प्रयोग गर्ने गरिएकाले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको स्थानीय भवानी घिमिरेले बताउनुभयो । आगलागीपछि चार जनाको परिवार छिमेकीको शरणमा पुगेको छ । रासस
No comments:
Post a Comment