काठमाडौँ, २६ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापिका–संसद्बाट पारित शिक्षा ऐन (आठौँ संशोधन) ले निजी क्षेत्रका विद्यालयलाई व्यापारिकबाट सामाजिक बनाउने बताउनुभयो ।
शिक्षा पत्रकार सञ्जालले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उहाँले अब कम्पनीमा निजी विद्यालय खोल्न नपाइने र हाल सञ्चालित निजी विद्यालयले चाहेमा गुठीका रुपमा रुपान्तरण हुन सक्ने बताउनुभयो । गत शनिबार संसद्बाट सो विधेयक पारित भएको थियो । मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षा उच्चतम मुनाफाको विषय हुन सक्दैन । त्यो संविधानको पनि भावना विपरीत हुन्छ । त्यसैले अब निजी विद्यालय क्रमशः सामाजिकीकरण गराउने काम हुन्छ ।”
मन्त्री पोखरेलले विधेयक पारित भएलगत्तै लागू हुने र यसले विद्यालयको संरचनात्मक सुधारमा आधारभूत परिवर्तन ल्याउने तथा प्रारम्भिक बाल शिक्षालाई मूल प्रवाहमा ल्याउने जनाउनुभयो ।
उहाँले शिक्षकलाई पूर्णतः राजनीतिक अधिकारबाट मुक्त पार्न नसकिने भएकाले पार्टीको कार्यकारी समितिमा मात्र बस्ने रोक लगाइएको बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले अस्थायी शिक्षकलाई सुविधासहित बिदाइ गर्न केही समय र थप बजेट लाग्न सक्ने बताउनुभयो । रासस
No comments:
Post a Comment