Saturday, June 4, 2016

‘छट्टु, अनपढ र भ्रष्टले देश विकास गर्न सक्दैनन्’

भक्तपुर, २२ जेठ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका नेतालाई छट्टुको सङ्ज्ञा दिनुभएको छ ।

आज भक्तपुरको छालिङमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले भन्ने बेलामा कम्युनिष्ट भन्ने तर काम भने काँग्रेस र एमालेभन्दा पनि खराब गर्ने, एउटा भन्ने अर्को गर्ने माओवादीका साथी छट्टु हुन् भन्नुभयो ।

प्रधानमन्त्रीको समेत आलोचना गर्दै उहाँले उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने पनि टिप्पणी गर्नुभयो । पुरानो पार्टी भए पनि भ्रष्टाचारीलाई संरक्षण गर्ने नेपाली काँग्रेस पार्टी व्यक्तिगत स्वार्थ मात्र चाहने बताउँदै भट्टराईले भन्नुभयो˗ “भ्रष्टलाई जेलबाट निस्कने बेलामा १२० किलोको माला पहिराउने र केन्द्रीय सदस्यमा अत्यधिक मतले जिताउने जमातले देशको विकास गर्दैनन् ।”

जहिले पनि समाजवादको कुरा गर्ने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको समाजवाद फ्रिजमा राखेको आइस जस्तो भएको भन्दै उहाँले भन्नुभयो˗ “उहाँको समाजवाद अब नेपालमा काम लाग्दैन ।”

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे राजनीतिक व्यवस्था आए पनि नेपाली जनताले सुख पाउन नसकेकाले आफूले नयाँ शक्तिको निर्माण गरेको उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो˗ “यो छ दशकको उमेरमा रहर लागेर जनतालाई झुक्याउन मैले नयाँ शक्ति खोलेर च्याँखे थापेको होइन, २१आँै शताब्दीको आवश्यकता पूरा गर्दै मुलुकलाई छोटो अवधिमा आर्थिक समृद्धितर्फ लैजानका लागि नयाँ शक्ति पार्टी खोलेको हुँ ।”

कार्यक्रममा नयाँ शक्ति नेपालका देवेन्द्र पौडेल, प्रदेश नं ३ का संयोजक बलावती शर्मा, केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईलगायतका नेताले नयाँ शक्ति जनताका लागि आवश्यक भएको जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts