काठमाडौँ, २२ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले अहिले सत्तालाई भन्दा व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
पाल्पा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको दुईदिने नेतृत्व विकास प्रशिक्षणको समापन कार्यक्रममा बोल्नुहँुदै वरिष्ठ नेता पौडेलले नयाँ संविधानमार्फत प्राप्त उपलब्धि र व्यवस्थालाई संस्थागत गर्नु काँग्रेसको प्राथमिकता हुने बताउनुभयो ।
संसदीय व्यवस्थाको घोर विरोध गर्नेहरु पनि अहिलेको संविधानबाट संसदीय व्यवस्थाप्रति प्रतिबद्ध भएकाले नयाँ संविधानमा काँग्रेसका धेरै सिद्धान्तहरुको जित भएको उहाँले तर्क गर्नुभयो ।
नयाँ संविधानको कार्यान्वयनको नेतृत्व काँग्रेसले नै नगर्दासम्म कार्यान्वयन हुन नसक्ने र कतिपयले संविधान कार्यान्वयन गर्न नचाहेको उहाँले टिप्पणी गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले काँग्रेस मुलुकको अविभावक पार्टी भएकाले प्रतिपक्षमा भए पनि संविधान कार्यान्वयनको नेतृत्व गर्नेतर्फ लाग्ने बताउनुभयो । “अहिले हामीलाई सत्ताभन्दा संविधान कार्यान्वयन मुख्य कुरा हो, संविधान कार्यान्वयन भयो भने लोकतन्त्र संस्थागत भई काँग्रेसको जित हुन्छ, नत्र जे पनि हुन सक्छ” – उहाँले भन्नुभयो ।
संविधान कार्यान्वयनको नेतृत्व गरेमा जनताले काँग्रेसलाई फेरि पनि पत्याउने वरिष्ठ नेता पौडेलको भनाइ थियो । अहिलेको संसद्को समयावधि अब धेरै नरहेकाले समयावधिभित्रै प्रतिनिधिसभा, प्रदेश सभा र गाउँपालिकाको निर्वाचन गराउने गरी तत्काल कार्यतालिका बनाउनुपर्ने उहाँको जोड छ ।
कार्यक्रममा काँग्रेसका अर्का नेता गगन थापाले अन्योलग्रस्त मुलुकको राजनीतिलाई दिशानिर्देश गर्न काँग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो । कतिपय पार्टीले जनतालाई सस्तो लोकप्रियताको भ्रममा पारेकाले भ्रम चिर्नु काँग्रेसका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उहाँको भनाइ थियो ।
अहिलेको सरकारले बनाएको बजेट परिणाममुखी नभई प्रचारमुखी मात्रै रहेको नेता थापाको टिप्पणी छ ।
कार्यक्रममा सहभागी ५८ जनालाई नेता थापासहित पदम न्यौपाने, जनार्दन अधिकारी, प्रताप पौडेल, राजेश पन्थीलगायतले नेतृत्व विकास र काँग्रेसका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
समापनका अवसरमा पाल्पा काँग्रेसका निवर्तमान उपसभापति तथा प्रशिक्षण प्रमुख कृष्णप्रसाद अधिकारी, महासमिति सदस्यहरु विजयराज घिमिरे, दानबहादुर पछाई, प्रशिक्षार्थी देवराज भण्डारी, तालिम संयोजक खिमानन्द बस्याललगायतले यस्ता प्रशिक्षण गाउँ तहसम्म लैजानुपर्नेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment