पाँचथर, २७ जेठ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले आगामी दुई वर्षमा मुलुकलाई सुकुम्बासीमुक्त बनाउने घोषणा गर्नुभएको छ ।
पाँचथरको यासोकमा पापोहाङ लावती सङ्घद्वारा निर्मित पूर्वमन्त्री पद्मसुन्दर लावतीको शालिक अनावरण गर्न आउने क्रममा आज जिल्ला मालपोत कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले सुकुम्बासी समस्या चुनौतीपूर्ण भएपनि आगामी दुई वर्षभित्र जसरी भएपनि समाधान गरी छाड्ने दृढता व्यक्त गर्नुभयो ।
यसका लागि भू–उपयोग नीति बनिसकेको र कार्यान्वयन भएपछि सुकुम्बासी समस्या समाधान हुने दाबी गर्नुभयो ।
अचल सम्पत्तिका रुपमा मानिएको भू–सम्पत्तिको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै उहाँले चुस्त दुरुस्त श्रेस्ता राखेर सुरक्षा गर्न मालपोत कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।
भू–उपयोग नीति लागू भएको र भूमिको आधारमा ११ प्रकारमा वर्गीकरण गरिएको भन्दै नागरिकलाई सोहीअनुसार उपयोग गराउनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री सुब्बाले मालपोत कार्यालयमा भ्रष्टाचार बढी हुने गरेको जनगुनासो आएको भन्दै न्यूनीकरणमा भूमिका खेल्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । रासस
No comments:
Post a Comment