रौतहट, २३ जेठ । सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेशमानसिंह स्मृति राष्ट्रिय नक आउट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र भैरहवा विजयी भएका छन् ।
पहिलो खेलमा १४५ रनले हिमालयन क्रिकेट एकेडेमी विजयी भएको हो । टस जितेर कलैयाले ब्याटिङका लागि हिमालयन क्रिकेट एकेडेमी काठमाडौँलाई आमन्त्रण गरेको थियो । एक ओभरमा २९ रन बनाएको हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२३ रनको विशाल स्कोर खडा गरेको थियो ।
राष्ट्रिय खेलाडीले भरिएको हिमालयन एकेडेमी काठमाडौँका लागि हिम शाक्यले ४० बलमा ६३ रन बनाएका थिए भने कप्तान भुवन कार्कीले १३ बलमा ३२ रन बनाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक रन बनाउन सफल हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ सेमी फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
कलैयाका लागि सागर गुप्ताले २ विकेट लिएका थिए । २२४ रनको लक्ष्य लिएको कलैयाले राम्रो सुरुवात गर्न सकेन । कलैया १८.५ ओभरमा अल आउट हुँदै ७८ रन मात्र जोड्न सफल भयो । कलैयाका लागि पवन सर्राफले २८ रन बनाउनबाहेक अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कलैयालाई सस्तोमा समेट्ने क्रममा हिमालयन एकेडेमीका कप्तान भुवन कार्कीले ४ विकेट लिएका थिए । उनी ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । उनले ४ ओभरमा ४ विकेट लिँदै ३२ रन बनाएका थिए ।
यसैगरी, दोस्रो खेलमा भैरहवा ७ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको युनाइटेड क्रिकेट क्लब वीरगन्जले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । युनाइटेड क्रिकेट क्लब वीरगन्जका लागि अरिफ सेखले ४७ र गौतम शर्माले १५ रन बनाएका थिए ।
युनाइटेड क्लब वीरगन्जलाई कम रनमा रोक्न भैरहवाका एकवाल अहमदले ३ विकेट र धीरज शाही तथा साह आलमले समान २÷२ विकेट लिएका थिए । १०९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको भैरहवाले निर्धारित २० ओभर भन्दाअघि नै ७ विकेटले विजय तय गरेको थियो । भैरहवाका लागि किसन गुरुङले ३९, शङ्कर रानाले २९ रन तथा प्रकाश केसीले २३ रनको योगदान दिएका थिए । युनाइटेड क्लब वीरगन्जका लागि बाबुजान अन्सारीले २ विकेट र मुर्तजा हवारीले १ विकेट लिएका थिए । भैरहवाका प्रितन गुरुङ ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए ।
भोलिको खेल हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र विराटनगर तथा आयोजक सरस्वती युवा क्लब चन्द्रनिगाहपुर र भैरहवाबीच हुने आयोजकले जनाएका छन् । रासस
––––––––––
No related posts.
No comments:
Post a Comment