Sunday, July 31, 2016

मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिए

मुस्ताङ, १७ साउन । हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँ चितुवा भेटिएको जनाइएको छ । सोह्रवटै गाविसमा एक्यापले गाविसस्तरीय संरक्षण समितिमार्फत वन्यजन्तु संरक्षण र अवैध चोरी सिकारी नियन्त्रण अभियान सञ्चालन गरेपछि विगत तीन वर्षयता जिल्लामा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको थियो ।
यसअघि, मुस्ताङमा आधिकारिक रुपमा हिउँ चितुवाको गणना भएको थिएन ।

दुई वर्षअघि हरियो वनले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक नभए पनि जिल्लामा १७ वटा हिउँ चितुवा भेटिएको एक्याप जोमसोमकी प्रमुख निरु थापाले जानकारी दिनुभयो । “हरियो वनले हामीलाई प्रतिवेदन दिन भने बाँकी छ”, उहाँले भन्नुभयो, “त्यसबाट प्राप्त भएपछि कुन–कुन ठाउँमा कति भन्ने कुरा जानकारी हुन्छ ।” खासगरी एक वर्षअघि उपल्लो मुस्ताङको छुसाङ, घमी र सुर्खाङ क्षेत्रमा स्थानीय किसानले पालेका भेडाच्याङ्ग्रा माथि सामूहिक रुपमा हिउँ चितुवाको आक्रमणको घटना बढेको थियो ।

अवैध चोरी सिकारीका कारण घोरल, रतुवालगायतका वन्यजन्तुको सङ्ख्या घटेपछि आहाराको अभावमा हिउँ चितुवाको सङ्ख्या पनि घट्ने सरोकारवाला निकायको भनाइ छ । उपल्लो मुस्ताङसहित, जोमसोम र कोबाङ गाविसको वन क्षेत्रमा बढी हिउँ चितुवा भेटिएको अनुमान गरिएको छ । जोमसोमको ठिनी क्षेत्रमा सबैभन्दा बढी हिउँ चितुवा रहेको स्थानीयले जानकारी दिएका छन् । रासस

पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, १७ साउन । बोलबम कावारिया सङ्घको आयोजनामा आइतबार राति १२ बजेदेखि हजारौँ बोलबम यात्रीले सुन्दरीजलस्थित बागमती नदीबाट शुद्ध जल ल्याई पशुपतिमा चढाइरहेका छन् ।

साउनको सोमबार शुद्ध जल शिवालयमा अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो विश्वासमा आइतबार दिउँसोदेखिनै श्रद्धालु भक्तजन सुन्दरीजलस्थित उर्खेनी माविमा आई बसेका थिए । शुद्धजल लिन सुन्दरीजल आएका भक्तजनलाई सङ्घले आइतबार बेलुकी निःशुल्क प्रसाद वितरण गरेको अध्यक्ष रामज्ञा रोनियारले राससलाई जानकारी दिनुभयो ।

आइतबार राति आयोजित कार्यक्रममा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालगायतका नेताले बोलबम यात्राले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताउनुभयो ।

बीस वर्षअघि तराईवासीले सुरु गरेको सुन्दरीजल पशुपति बोलबम यात्रामा अहिले पहाडी समुदायका मानिसको पनि उल्लेखनीय सहभागिता छ । “बिहान १ बजे नै शुद्ध जल लिएर पशुपति आइपुगेका भक्तजनले २ बजेदेखि जल अर्पण गर्ने व्यवस्था गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताउनुभयो ।”

“बिहानदेखि तीन लाइनबाट पशुपतिभित्र प्रवेश गरी पूजा, दर्शन र जल अर्पण गर्ने व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयो पशुपतिलाई १२ ज्योति लिङ्गको पनि शिरोभाग मानिने भएकाले साउन महिनामा भारतीय भक्तजनसमेत सुन्दरीजल पशुपति बोलबम यात्रामा आउने गर्छन् ।

साउनको तेस्रो सोमबार आज बिहानदेखि पशुपतिमा वर्तालु महिलाको पनि भीड लागेको कोषले जनाएको छ । रासस

भौगोलिक आधारमा गाउँ र नगरपालिका निर्धारण गर्न सुझाव

नवलपरासी, १७ साउन । नवलपरासीमा भौगोलिक अवस्थाका आधारमा मात्र स्थानीय गाउँ वा नगरपालिका निर्धारण गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

जिल्लाको भौगोलिक विकटता अन्य प्राविधिक अवस्था साथै जनसङ्ख्याको आधारमा जिल्लामा गाउँ वा नगरपालिकाको सङ्ख्या थप गर्नुपर्ने सरोकारवालाले सुझाव व्यक्त गरेका हुन् ।

स्थानीय तहको पुनःसंरचना प्राविधिक सहयोग समितिको कार्य शर्त तथा कार्यविधि समितिले नवलपरासीमा आइतबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन ।

स्थानीय तहको पुनःसंरचना आयोगले निर्धारण गर्नुपूर्व नवलपरासी जिल्लामा प्रदेशको सीमाङ्कन टुङ्गाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

निधारण गरिएको मापदण्ड नवलपरासी जिल्लाका लागि वैज्ञानिक नभएको उनीहरुको धारणा रहेको छ ।
नवलपरासी जिल्लालाई कुल ११ वटा स्थानीय तहमा विभाजन गर्ने गरी आएको कार्यविधिमा दाउन्ने वारी र पारी कति कति वटा स्थानीय तह हुने भन्नेमा समेत अन्योल रहेको छ ।

जनसङ्ख्याको कारण नगरपालिका बनेका समेत गाउँ पालिकामा पर्नुपर्ने अवस्था सिर्जना गर्न नहुने र जनसङ्ख्यासँगै भूगोललाई समेत आधार मान्नुपर्ने माग गरिएको छ ।

कार्यक्रममा सहभागीले राजनीतिक दलका भोट गनेरभन्दा पनि जनताको सुविधाको आधारमा सीमा क्षेत्र निर्धारण हुनुपर्ने माग गरेका छन् ।
प्राविधिक सहयोग समितिले नवलपरासीमा पुनःसंरचनाको कार्य थालनी गरेको र सबैसँग सुझाव सङ्कलन गरी दस्तावेज तयार गर्ने कार्य भइरहेको सहयोग समितिका सदस्य सचिव तथा जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले बताउनुभयो ।

गाउँपालिका, नगरपालिका, विशेष संरक्षित वा स्वायत्ता क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले नवलपरासी जिल्लालाई भित्री मधेसअन्तर्गत राखी अधिकतम ११ वटासम्म स्थानीय तह बनाउन सकिने मापदण्ड तोकेको छ । रासस

तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु सात घाइते

लहान, १७ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको बड्हारामाल गाविस–६ स्थित बन्दीपुर सडकमा गएराति तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना तीर्थालु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त १३०७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सिरहाको मिर्चैया नगरपालिका–८ निवासी १८ वर्षीया गौरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–८ निवासी २० वर्षीय विपीन रायको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अन्य घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । रासस

सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चा : डा भट्टराई

तुलसीपुर, १७ साउन । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपालको सत्ता परिवर्तनमा सधँै भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गर्नु भयो । नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उहाँले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने धारणा राख्नु भयो ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उहाँको भनाइ रहेको छ ।
डा भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा राख्नुभयो ।
बर्सेनि भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक वार्ता हुन नसकेको उल्लेख गर्दै उहाँले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक छ भन्नुभयो । रासस

राक्षस धपाउन पूजा गर्नेे मौलिक पर्व घन्टाकर्ण मनाइदै

भक्तपुर, १७ साउन । आज साउन कृष्णपक्ष घन्टाकर्ण चतुर्दशी । नेवारी समुदायले आज हर्षोल्लासका साथ घन्टाकर्णअर्थात् गठामुंगः पर्व मनाउँदैछन् ।

आजको दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षस धपाउन पूजा गर्ने गर्दछन् ।

घन्टाकर्णको दिन नेवार समुदायले एका बिहानै महादेवको मन्दिर पुगेर जल ल्याउने र आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन रहेको छ । घन्टाकर्णको दिन घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भुतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

आजै नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गरिन्छ । काँचो माटोको सानो दहीको कटारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूल समेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलन समेत रहेको छ ।

आजकै दिन टोलवासीले नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगातअर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोलामा लगेर जलाइन्छ ।

नेवार समुदायमा घन्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखि प्रचलनमा रहेको छ ।

वर्षको चारवटा प्रमुख चतुर्दशी घन्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घन्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने मौलिक पर्व हो । यस पर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र चाडपर्वको सुुरुबाट भएको सङ्केत पर्वको रुपमा पनि लिने गरिएको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताउनुहुन्छ ।

आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वको रुपमा लिने र सो दिनदेखि घन्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत घन्टाकर्ण पर्व पछि सुरु गरिन्छ ।

भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । बडादसैँको टीकाको दिनदेखि प्रदर्शन गरिने नवदुर्गा नाच भक्तपुरको प्रसिद्ध नाचमध्ये एक हो । रासस

१३ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए नवौं यूरोपेली बैठक सम्पन्न

NRNA ERM Copenhagen Declaration
डेनमार्कको कोपेनहेगनमा जारी गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं यूरोपेली बैठक एवं सातौं महिला सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
आगामी १० औं बैठक जर्मनीको फ्रैंकफर्टमा आयोजना गर्ने निर्णय गर्दै समापन भएको उक्त बैठकद्वारा जारी घोषणा पत्र जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ :

गैर आवासीय नेपाली संघ, नवौं यूरोपियन क्षेत्रीय बैठक तथा सातौं यूरोपियन महिला सम्मेलन
कोपेनहेगन, डेनमार्क
३०(३१ जुलाई २०१६ (१५(१६ साउन २०७३)
निर्णय
“युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भयो ।
डेनमार्क स्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरार्का, महासंघका सदस्य चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्नु हुने ३ सय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस पाचौं युरोपियन क्षेत्रिय वैठकमा व्यक्त विचारलाई समेट्दै यो वैठक निम्न निर्णय गर्दछ ।
१। अबिरल बर्षासँगै आएको बाढी र पहिरोका कारण देशका बिभिन्न भागमा धेरै नेपालीले ज्याउन गुमाउनु भएको छ । हज्जारौको संख्यामा अहिले पनि बाढी, पहिरो र डुवानको त्रासमा रहनु भएको छ । यस्तो अवस्थामा यो बैठक मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अप्ठ्रोमा परेका परिवारलाई सहयोग गर्न यस क्षेत्रका सम्र्पूण एनसिसिहरुलाई आह्वान गर्दछ । सहयोग गर्न सम्बन्धित स्थानमा जाँदा आवश्यक पर्ने भौतिक सहयोग नेपाली सेनाले गर्ने सम्झौता भइसकेको छ र कुनै पनि सहयोग रकम संघको परोपकारी तथा मानव कल्याणकारी हित समिति मार्फतबाट गर्ने निर्णय गर्दछ ।
२। देशको समृद्धी नै हाम्रो चाहना हो । जसको लागि लगानीको वातावरण पहिलो आधार हो । अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन भई देशलाई पूर्ण स्थायित्वको बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ । जसको लागि प्रमुख राजनीतिक दलहरु वीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पनि पूर्ण रुपमा समर्थन गर्दछ ।
३। नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको नीजि क्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ वीच हुदै आएको सहकार्यलाई अझ बिस्तार गर्ने अभिप्राय स्वरुप, नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा युरोपमा बस्ने नेपाली र महासंघले संयुक्त लगानीमा रु १ अर्ब बराबरको लगानी गर्ने सहमती भयो । साथै नीजी क्षेत्र को लगानी सम्बन्धी कानूनी लगायतका बाधा अड्चन फुकाई लगानीका लागि आवस्यक वातावरण बनाउनका लागि सम्बन्धित निकायमा पहल गर्न महासंघ र गैरआवासीय नेपाली संघ वीच संयुक्त कार्यदल बनाउन यो बैठक आवस्यक ठान्दछ ।
४। अन्तराष्ट्रिय समन्वय परिषदको समाजिक उद्यमशीलता बिकास उपसमितिले अगाडि सारेको लघुबित्त कार्यक्रमलाई युरोप क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
५। गैरआवासीय नेपाली नेपाली संघले संचालन गरिरहेका परोपकारी तथा मानवहित सम्बन्धि र अन्य परियोजनाहरु ९जस्तै स्एक हजार घर निर्माण, शंखमूल पार्क, भवन निर्माण लगायत० आवस्यक कानूनी प्रकृया पुरागरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा यस क्षेत्रबाट भएको प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने र अरु थप अर्थ संकलन गर्न प्रयास गर्नुका साथै स्वयमशेवी रुपमा आफ्नो शिप लगायतका सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।
६। गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निश्कर्ष सहित यो बैठक, महिलाहरु बीचको सम्पर्क विस्तार गर्दै महिलाहरुको पक्षमा बिभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
साथै, युरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमसीलता बिकास तथा संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवस्यक सहयोग गर्ने निर्णय पनि यो यो बैठक गर्दछ ।
७। यो बैठक अहिले सम्मका आठवटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको समिक्षागर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।
८। पोर्चुगल, स्पेन र आयरल्याण्डमा नेपाली दुताबास स्थापना गर्न अन्तराष्टिय समन्वय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ । साथै युरोपको बिभिन्न क्षेत्रमा हुने मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउदछ ।
९। नेपालको कानून तथा भौतिक संरचना अपांगमैत्रि बनाउन तथा शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वःनिर्भर तथा स्वावलम्वी बनाउने परियोजना तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । अन्तराष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वावलम्वी बनाउन अभियान चालउने निर्णय गरियो । हाललाई शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा कार्यरत डेनमार्क निवासी अनुजा गौतमलाई गैरआवासीय नेपाली युवा दुत घोषणा गर्दै उनको अभियानलाई सहयोग गर्न अन्तराष्ट्रिय समन्वय परिषद मार्फत रु। ३२ लाख प्रदान गरियो । यसैगरी स्पेन निवासी आईना द्धारा संचालित परियोजनालाई क्रमशः १३ लाख प्रदान गर्ने निर्णय गरियो ।
१०। दोश्रो पुस्ताका गैरआवासीय नेपालहरुलाई नेपालप्रति भावनात्मक सम्बन्ध कायम राख्न बिभिन्न कृयाकलाप गर्न सम्पूर्ण राष्टिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ ।
११। भुकम्पपछि खस्कदै गएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न अन्तराष्टिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको अथितिदेवो भवः अभियानलाई सहयोग गर्ने र्निणय गरियो ।
१२। दशौँ क्षेत्रिय बैठक २०१७ मा जर्मनीमा गर्ने निर्णय गरियो ।
१३। नबौँ युरोपियन क्षेत्रिय वैठकलाई सफल बनाउनको लागि सहयोग गर्नु हुने डेनमार्क स्थित नेपाली दुतावास, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद, राष्टिय समन्वय परिषद, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्था तथा सम्पुर्ण सहयोगीहरु प्रति यो बैठक हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ ।
१६ साउन २०७३

नेतृत्वदायी भूमिकाबाट चुक्नु हुँदैन- घले

nrn copenhagen nrn cph1 nrn,cph shesh ghale, cph
गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले देश बाहिर रहेका प्रवासी नेपाली समाजलाई नेतृत्व गरेर अगाडि बढ्ने अवसर एनआरएनएलाई भएकाले उक्त नेतृत्वदायी भूमिकाबाट चुक्न नहुने बताएका छन् ।
डेनमार्कको कोपनहेगनमा शुरु भएको गैर आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले यदि हामीले यसप्रकारको सूवर्ण अवसरलाई सदुपयोग गर्दै सहकार्य गर्न सकेनौं भने अरुले नै उक्त अवसर लिने बताए । अध्यक्ष घलेले भने संघ स्थापनाको करिब १४ वर्ष पार गरिसकेको अवस्थामा प्रवासमा क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढेर सबैलाई नेतृत्व गर्ने अवसर एनआरएनएलाई छ र यसलाई संस्थाले बेलैमा बुझेर अगाडि बढ्न सक्नु पर्छ । कार्यक्रममा बोल्दै उनले मानव तस्करीका कुराहरु पनि सुन्नमा आउने गरेका छन्, यस प्रकारका गलत क्रियाकलापहरुलाई पनि हामीले रोक्नुपर्छ भने ।
सोही कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हरेक एनआरएनहरुले विभिन्न देशमा बसेर सिकेका सीप तथा ज्ञान लिएर स्वदेश फर्कनु पर्ने अवधारणा व्यक्त गर्दै अब हामीले यूरोपबाट ज्ञान र सीप लिएर नेपाल फर्कनु पर्छ र आफ्नै देशलाई समृद्ध बनाउनु पर्छ भने ।
एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछानेले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेकाले अब स्वदेशमा नै लगानी गर्न एनआरएनहरुसँग आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि डेनमार्क स्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत रामकाजी खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरार्का, एनआरएनएका संस्थापक रामप्रताप थापा, संरक्षक दील गुरुंग, आईएमईका अध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका उपाध्यक्ष कुमार पन्त र भवन भट्ट, महासचिव डा. बद्री के.सी., सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी लगायतले आ आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको आयोजनामा जारी उक्त नवौं यूरोपियन बैठक एवं सातौं महिला सम्मेलनमा यूरोप क्षेत्रका करिब २० वटा मुलुकबाट गरी करिब दुई सय पचास प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक कमिटीले जनाएको छ ।

फोटो : बसन्त रानाभाट

भूकम्प पीडित राहत कोषको रकम खोई ?

न्युयोर्क सम्बाददाता
नेपालमा गएको भूकम्प र त्यसबाट पीडित बनेका नेपालीहरुको सहयोगार्थ भनेर संसारभरबाट रकम संकलन भए र पीडितहरुसम्म पुर्याउने काम पनि भएका छन् ।
यसै सन्दर्भमा नेपाली जनसम्पर्क समिति सान्फ्रान्सिस्कोका पूर्व सभापति तथा मनोनित सदस्य चन्द्र कान्त धितालले भूकम्प पीडित राहतकोष बाट $ १५००।०० (एक हजार पाच सय) डलर के गरे भन्ने विषय अहिले सर्वत्र चासोको विषय भएको छ ।

नेपाली जनसंपर्क समिती अमेरिकाले भूकम्प पीडितलाई उठाएको रकम हिना मिनाको कुरा झन झन रहस्य बन्दै गएको समाचार प्राप्त भएको छ । गत जुलाई २८ तारिखका दिन आनन्द बिष्ट समूहले मिटिङमा रकम हिनमिना सम्बन्धी, बिष्ट समुह्को अनुसन्धान समितीले प्रतिबेदन सार्वजनिक गर्ने क्रममा ने ज स सान्फ्रन्सिस्को क्यालिफोर्निया च्याप्टरका पुर्व सभापति तथा मनोनित केस चन्द्र कान्त धितालले भुकम्प पीडितलाई भनेर उठाएको रकम मध्ये $ १५००।०० (एक हजर पाच सय) युएस डलर आफुखुसी लगेको र उनका आफन्त मार्फत गोर्खामा बाडेको भनिएता पनि, कुनै प्रमाण नभएको, नगदै बाडेको हो कि सामान किनेर बाडेको हो? कुनै बिल भर्पाइ समेत नदिए पछी र केन्द्रिय समितीबाट सभापति लगाएत तीन सदस्सिय टोली तत्काल नै नेपाल गएर राहत बितरण गरेको अवस्थामा कसैलाई जानकारी नदिकन धितालले रकम आँफैले झ्वाम पारेको आसन्का मात्र होइन, प्रस्ट नै हुन्छ । उक्त बैठकमा अनुसन्धान समितीका एक सदस्य लोक लामाले कडारुपमा चन्द्र धितालको आलोचना गर्नुका साथै धिताल दोसी भएको जिकिर गरेका थिए र चन्द्र धिताललाइ अब आइन्दा तेसो नगर्नु भनेका थिए । उक्त बैठकमा लोक लामा पनि अर्का जिउदा र प्रस्ट बक्ता देखिए भने सदस्य लामालाई पबिता परियार र हरिबोल भण्डारी ले समर्थन गरेका थिए ।

क्याम्बोडियाली प्रधानमन्त्रीको आरोप

क्याम्बोडिया, १६ साउन । क्याम्बोडियाका प्रधानमन्त्री साम्देक टेको हुन सेनले इराक र मध्यपूर्वका देशहरुमा रक्तपातपूर्ण द्वन्द्व मच्चाउनमा अमेरिकाको हात रहेको भनी दोषारोपण गरेका छन् ।

राजधानी न्होमपेन्को पिस प्यालेसमा भेला भएका युवा समूहलाई सम्बोधन गर्दै प्रजातन्त्र र मानव अधिकारको प्रबद्र्धन गर्ने नाममा अमेरिकाले मध्यपूर्वका देशहरुमा रक्तपातपूर्ण द्वन्द्वको ज्वाला फैलाउने काम गरिरहेको बताएका छन ।

यसैकारण दिनहूँ सयौं, हजारौं मानिसहरु मारिइ रहेका र दसौं लाख त्रस्त नागरिकहरु आफ्नो देश छाडी यूरोपतर्फ पलायन हुन बाध्य पारेको भन्ने आरोप पनि उनले लगाएका छन् ।

“गलत प्रवृत्तिले विश्व राजनीति चलाउँदा यस्तो परिणाम निस्केको र अमेरिकाले गलत राजनीति गरिरहेको छ ।

अमेरिकी नेतृत्वको सैनिकशक्तिले इराकलाई परास्त गरी सद्दाम हुसेनको मृत्यु भएपछि यसले मध्यपूर्वका इन्धन धनी राष्ट्रहरुलाई दीर्घकालिक द्वन्द्वतर्फ उन्मुख गराएको” उनले थपेका छन् ।

अमेरिका उपर उनको यस्तो दोषारोपण एक क्षणिक आवेश र आफ्ना मुलुकका जोशिला युवाहरुलाई दिग्भ्रमित पार्ने गैरजिम्मेवार टिप्पणी मात्र हो भन्ने अनुमान गरिएको छ । रासस ÷सिन्ह्वा

आक्रमणमा सात साउदी सीमा सुरक्षागार्ड मारिए

रियाद, १६ साउन । यमनको सीमा क्षेत्रमा भएको झडपमा परी सात साउदी सीमा सुरक्षागार्ड मारिएका साउदी अरेबियासँग आवद्ध संयुक्त सेनाले जानकारी दिएको छ ।

यमनबाट आएका आतङ्ककारीले गरेको आक्रमणमा परी एक अधिकृतसहित सात सीमा सुरक्षा गार्डको मृत्युभएको छ ।

यमनका विद्रोहीसँग युद्ध गरिरहेका साउदी अरेबिया आवद्ध संयुक्त सेनाले आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ ।

शनिबार नाजरन क्षेममा रहेको यमनको दक्षिण सीमा पार गर्न खोजेका विद्रोहीलाई सीमा सुरक्षागार्डले रोकेपछि सो आक्रमण भएको जनाइएको छ ।
साउदी अरेबियासँग आवद्ध युद्धक विमानले गरेको आक्रमणमा दर्जनौँ आक्रमणकारी र उनीहरुको सवारी साधनलाई ध्वस्त पारेको बताइएको छ ।

यमनमा सरकारी विरोधी सिते विद्रोही अर्थात यमनमा हुथीको नामबाट परिचत विद्रोहीविरुद्ध साउदी अरेबिया आवद्ध संयुक्त सेनाले हवाई आक्रमण गर्दै आएका थिए ।

संयुक्त सेनाद्वारा जारी विज्ञप्तिअनुसार विद्रोहीले गरेको यस आक्रमणबाट संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा गत १० अप्रिलमा भएको युद्धबिरामको उलङ्घन भएको छ ।

यस युद्धबिरामको पालना गर्न दुवै पक्षको कमजोरी रहेको बताइएको छ । रासस÷एपी

विवाहको बस दुर्घटनामा २६ को मृत्यु

इस्लामाबाद, १६ साउन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ ।

उत्तरपश्चिम पाकिस्तानीको आदिवासी क्षेत्र खैबर प्रान्तका भएको यस दुर्घटनामा पहिला १५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । बाढीमा बेपत्ता भएकाहरुमध्ये थप ११ जनाको शव फेला परेपछि सो सङ्ख्या २६ पुगेको हो ।

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा विवाह समारोहका ३० पाहुना सवार रहेका यो गाडी बाढीमा पर्न गई बगाएको समा समाचार संस्थाले जानकारी दिएको थियो ।

सो दुर्घटनामा १८ बालबालिका छ महिला र दुई पुरुषको मृत्यु भएको जनाइएको छ । अन्य तीन पुरुष घाइते भएका र एक व्यक्ति अझै वेपत्ता रहेको जनाइएको छ ।

दुहला समूहको विवाह भोजमा सहभागि भएर बारा क्षेत्रबाट बजार जखाखेल क्षेत्रमा गइरेहेको सो गाडी बाढीको भेलमा पर्नगई दुर्घटनाग्रस्त भएको थियो ।

अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने यस प्रान्तमा भएको यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारजन र घाइतेलाई पकिस्तानी प्रधानमन्त्री नवाज सरिफले गहिरो दुःख र शोक प्रकट गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्रीले राष्ट्रिय प्रकोप व्यवस्थान निकाय (एनडीएमए)का अधिकारीलाई घाइतेहरुलाई प्रभावकारी उपचार गराउन लागि आदेश दिनुभएको छ ।

एनडीएमएका अनुसार पाकिस्तानमा जारी भारी वर्षाको कारण भएका छट्टाछुट्टै घटनामा यसै जुलाई महिनामा मात्र ५५ को मृत्यु हुनुको साथै ३५ घाइते भएका छन् । रासस÷सिन्ह्वा

बस दुर्घटना मृत्यु भएका छ जनाको सनाखत

हेटौँडा, १६ साउन । गए राति बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ ।

काठमाडौँबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का १० वर्षीय मणिरत्न चौधरी, २५ वर्षीय विनोद चौधरी तथा २७ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ ।

यस्तै त्रियुगा नगरपालिका– ३ का तीन वर्षीया मुस्कान चौधरी र बारा सिम्रौनगढ– ३ का २७ वर्षीय विशाल चौधरीको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु भएका अन्य तीन जनाको सनाखत हुन सकेको छैन ।

तीव्र गतिमा रहेका दुवै बस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा दुर्घटनामा परेका थिए । दुर्घटनामा घाइते ३२ मध्ये १५ जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । अन्य १४ यात्रु भने उपचारपछि घर फर्किसकेको बताइएको छ । रासस

काँग्रेस केन्द्रीय सदस्यमा ‘डिना’

काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई आज मनोनयन गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी काँग्रेसको १३ औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्यमा चुनाव लडेकी ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जानकारी दिनुभयो ।

उहाँलाई काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘डिना’ नेपाली काँग्रेस मकवानपुरबाट सांसद हुनुहुन्छ । काँग्रेसको विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिसक्नुभएको छ । रासस

विश्व सम्पदास्थलको संरक्षण गर्न निर्देशन

काठमाडौँ, १६ साउन । व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सो अन्तर्गतका सरोकार भएका निकायलाई यस्तो निर्देशन दिएको हो । पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीचबाट गुह्येश्वरी मन्दिरतिर जाने मोटर बाटो बन्द गरेर पैदलमार्ग मात्र कायम गर्न पनि समितिले निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक केन्द्र (युनेस्को) ले सो बाटो बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदास्थलको कालो सूचीमा राख्ने तयारी गरेकाले छिटो बन्द गर्न बैठकमा सांसदले माग गर्नुभयो ।

बैठकमा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले पशुपति, लुम्बिनी र जनकपुर क्षेत्रको विकासका लागि विस्तृत योजना ल्याउने तयारी भइरहेको जानकारी गराउनुभयो । “पशुपति क्षेत्र अन्तर्गत ६४ महादेव मन्दिर (शिव लिङ्ग) पर्छन्, यी सबै मन्दिरलाई पशुपति परिक्रमा (सर्किट) का रुपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ, पशुपतिलाई जीवित तीर्थस्थलका रुपमा विकास गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

गत वर्ष चैते दशैँमा मात्र मुक्तिनाथ मन्दिरमा एकै दिन १६ हजार भारतीय पर्यटक आएकाले लुम्बिनी, जनकपुर लगायत धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सके नेपालीको आयआर्जन वृद्धि हुने मन्त्री पोखरेलको भनाइ थियो ।
मन्त्रालयका सचिव प्रेमकुमार राईले धार्मिक, सांस्कृतिक मठ मन्दिरमा धेरै समिति हुनाले विकास निर्माणमा समस्या आएको बताउनुभयो । “पशुपति, लुम्बिनी र जनकपुर लगायतका सम्पदा स्थललाई उत्तिकै महत्व दिने नीति छ”–उहाँले भन्नुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले भूकम्पपछि पुनःनिर्माणमा पशुपति क्षेत्रलाई रु ५० करोड आवश्यक भएको बताउनुभयो । “गत आर्थिक वर्षमा पशुपतिका सम्पदाको पुनःनिर्माणमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु सात करोड दिने भनेकामा बजेट नै आएन”–उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनी क्षेत्रलाई व्यवस्थित बनाउने गुरुयोजना अनुसार काम भइरहेको बताउनुभयो । “लुम्बिनीमा चढाइने भेटीघाटी व्यवस्थित बनाइएको छ, लुम्बिनीलाई शान्ति नगरका रुपमा स्थापित गरिँदैछ”–उहाँले भन्नुभयो ।

बृहत्तर जनकपुर विकास परिषद्का कार्यकारी निर्देशक उमेश यादवले जनकपुर छायामा परेकाले राष्ट्रिय गौरवको आयोजना बनाई विकास गरिनुपर्ने बताउनुभयो । “जनकपुरका संरक्षित क्षेत्रको संरक्षण हुन नसक्दा चार सरोवर लुप्त भएका छन्, जनकपुरलाई पनि विश्व सम्पदा सूचीमा राखी यसको विकास गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पशुपति, लुम्बिनी र जनकपुर लगायत धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले समेत महत्वपूर्णस्थलको विकासमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

समितिका सभापति प्रभु साहले पशुपति, लुम्बिनी, जनकपुर लगायत सम्पदास्थलमा गर्नुपर्ने सुधारका सम्बन्धमा यसअघि दिइएका निर्देशनका विषयमा भएका कामको प्रतिवेदन एक महिनाभित्र बुझाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।

“जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा आवश्यक गृहकार्य गर्न संस्कृति मन्त्रालयलाई यो बैठकले निर्देश गर्दछ, गोकर्ण रिसोर्टको सेयर परिवर्तनका विषयमा आगामी बैठकमा ट्रस्ट र अन्य सरोकारवाला निकायलाई बोलाई थप छलफल गरिनेछ”–उहाँले भन्नुभयो ।

बैठकमा सांसद भरतबहादुर खड्का, प्रेमकिशोर साह, अशोकुमार मण्डल, लालबाबु यादव, सुरेन्द्रप्रसाद चौधरी, अञ्जनी श्रेष्ठ, केशरी घर्ती, पेम्बा लामा, लक्ष्मी राई लगायतले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सांस्कृतिकस्थलको समानुपातिक विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

गोकर्ण रिसोर्टको सेयर

समितिको आजको बैठकमा गोकर्ण रिसोर्टको सेयर ‘एलएम सुविर ब्रदर्स’ (नेपाल) ले ‘यति होल्डिङ्स’का नाममा हस्तान्तरण गरेका विषयमा पनि छलफल भयो । छलफलमा नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ब्रदर्सले सेयर हस्तान्तरण ढिला भयो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि पत्र प्राप्त भएको र प्रक्रिया अनुसार नै सेयर हस्तान्तरण भएको बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले विदेशी कम्पनी नेपालमा दर्ता भए पनि सेयर निस्काशन गर्ने अधिकार नहुने बताउनुभयो । सो विषयमा थप छलफल गर्नुपर्ने भएकाले आगामी बैठकमा सरोकार भएकाहरुलाई बोलाएर निष्कर्षमा पुगिने सो अवसरमा जानकारी गराइयो । रासस

‘स्थिर सरकार हुने गरी दलबीच गठबन्धन बनाउनु आवश्यक’

भक्तपुर, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले अब बन्ने सरकार स्थिर हुने गरी दलबीच गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले स्थिर सरकार बन्न सके मात्रै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्भव हुन्छ भन्नुभयो ।

राप्रपा अब बन्ने सरकारमा सहभागी हुने कि नहुने भन्नेबारेमा राप्रपा नेपालसँग हुने छलफलले निर्णय गर्ने उहाँको भनाइ थियो । उहाँले दुई पार्टीबीचको एकीकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने जानकारी पनि दिनुभयो ।

नेता राणाले मधेसलाई दुई प्रदेश बनाएर समाधान खोज्नुपर्ने औल्याउनुभयो । नयाँ बन्ने सरकारले तत्कालै नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सुनिश्चित गर्नुपर्ने औल्याउँदै उहाँले नेपालले चीनसँगको सम्बन्ध विस्तार गर्दै अझै व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

उद्धार उपकरण तयारी अवस्थामा राख्न निर्देशन

CA-Officeकाठमाडौँ, १६ साउन । व्यवस्थापिका–संसद्, विकास समितिले प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न र उपयुक्त स्थानमा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले बाढीपहिराबाट हुन सक्ने क्षतिको तत्काल व्यवस्थापन गर्न उपयुक्त स्थानमा डोजर, स्काभेटर र बेलिब्रिज जस्ता उपकरण तयारी अवस्थामा राखी सहज परिचालनको व्यवस्था अविलम्ब मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकले बाढीपहिराले जनधनमा पु¥याएको क्षति तथा उद्धार र राहतमा भइरहेका कामका बारेमा सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेको थियो ।
बैठकमा सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, गृह सचिव नारायणगोपाल मलेगो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल लगायतले उद्धार राहतका सम्बन्धमा सरकारका तर्फबाट भएका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको थियो ।

सभापति अधिकारीले बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी विस्थापित परिवारको गाँस, बास र खानाको उचित व्यवस्थापन गर्न र आहत परिवारलाई समयानुसारको उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभयो ।

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक पूर्वसावधानीका सूचकको विकास गरी सामुदायिक रेडियो लगायत मिडियाबाट पूर्वजानकारी प्रचारप्रसार अभियान सञ्चालन गर्ने र जोखिमपूर्ण स्थानमा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गर्न समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

राष्ट्रिय राजमार्ग, जिल्ला सदरमुकाम तथा गाविस जोड्ने प्रमुख मार्ग, सडक÷पुलमा भएको वर्षात्को क्षतिको तत्काल पुनःनिर्माण सुरु गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।
समितिले प्रकोप व्यवस्थापनमा राज्यका विभिन्न निकायले पूर्वतयारी साथ आन्तरिक व्यवस्थापन मिलाई आवश्यक नवीनतम उद्धार उपकरण सामग्रीसहित जनशक्ति संयोजन गरी तयारी हालतमा राख्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले प्राकृतिक प्रकोपका समयमा थलामा नै परिचालन हुने कर्मचारीलाई हाल रहेको सात दिनको काजमा खटाउने व्यवस्थालाई आवश्यकतानुसार खटाउन सकिने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि निर्देशन दिएको सभापति अधिकारीले जानकारी गराउनुभयो । रासस

एग्रिमोबारे मुख्य सचिव र परराष्ट्र सचिवसँग जानकारी लिइने

काठमाडौँ, १६ साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयमा गरेको निर्णयबारे सरकारसँग जानकारी माग गर्ने भएको छ ।

समितिको आजको बैठकले संसदीय सुनुवाइ हुनुपूर्व नै सम्बन्धित मुलुकमा प्रस्तावित राजदूतको नाम सहमतिका लागि पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको भन्ने विषयमा छलफल गर्न मुख्य सचिव र परराष्ट्र मन्त्रालयका सचिवलाई आगामी बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको हो ।

बैठकले विभिन्न देशका लागि प्रस्तावित राजदूत र स्थायी प्रतिनिधिविरुद्ध समितिमा प्राप्त सूचना तथा उजुरी खोल्ने निर्णय गरेको छ । सरकारले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि पठाएको छ ।

उहाँहरुमध्ये आठ जना परराष्ट्र सेवामा कार्यरत हुनुहुन्छ भने १४ जनाको पृष्ठभूमि विभिन्न राजनीतिक दलसँग जोडिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापालाई प्रस्तावित राजदूतका लागि सरकारले सिफारिस गरेको हो ।

परराष्ट्र सेवा बाहिरबाट महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर केसी, डा नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाङ्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा महेन्द्रप्रसाद सिंह राजपूत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई सरकारले राजदूतका लागि सिफारिस गरेको छ ।

पाकिस्तान, ब्राजिल, संयुक्त राष्ट्रसङ्घीय कार्यालय भियना, रुस, जर्मनी, इजिप्ट, संयुक्त अधिराज्य, बेल्जियम र युरोपेली सङ्घ, चीन, जापान, श्रीलङ्का, इजरायल, साउदी अरेबिया, गणतन्त्र कोरिया, डेनमार्क, कतार, बहराइन, अस्ट्रेलिया, बङ्गलादेश, संयुक्त अरब इमेरेट्स, म्यानमा र ओमनमा नेपाली राजदूतको पद खाली रहँदै आएको छ ।

मर्यादाक्रमबारे ध्यानाकर्षण
यसअघि समितिको बैठकले न्याय परिषद्ले ११ न्यायाधीशको संसदीय सुनुवाइ विशेष समितिमा सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी पठाएको नाम मर्यादाक्रमअनुसार नभएको भनी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिको आजकै बैठकले मर्यादा क्रमअनुसार नाम प्रस्तावित गर्नुपर्ने मत समेत समितिमा रहेको कुरा न्यायपरिषद्लाई जानकारी गराउने निर्णय गरेको छ । समितिको निर्णयमा “नाम सिफारिस गर्दा समानुपातिक समावेशी प्रतिनिधित्वलाई समेत ध्यान दिई सिफारिस गर्न न्याय परिषद्लाई ध्यानाकर्षण गराउने” भनिएको छ ।

समितिले न्यायपरिषद्बाट सर्वाेच्च अदालतका न्यायाधीशका लागि प्रस्तावित न्यायाधीश र वरिष्ठ अधिवक्तासँग अवधारणा, कार्ययोजना र सोच समेतको जानकारी लिई प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवका आधारमा योग्य देखिएको ठहर गर्दै नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । रासस

राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः मौखिक आग्रह

काठमाडौँ, १६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ ।

सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुग्नुभएको थियो ।

भेटका क्रममा नेताहरुले सहमतिको सरकार गठनका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा सकिनै लाग्दा समेत सहमतिको सम्भावना नजुटेकाले बहुमतीय प्रक्रिया अघि बढाउन समेत नेताहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहका अनुसार राष्ट्रपतिले सहमतीय सरकारका लागि अझै प्रयास गर्न प्रमुख दलका नेतालाई मौखिक रुपमा आग्रह गर्नुभएको छ । यद्यपि समयसीमाभित्र सहमतिको सम्भावना नरहेकाले राष्ट्रपतिले सोमबार पुनः बहुमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि एक साताको समय दिने सम्भावना रहेको साहले बताउनुभयो ।

राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना सकिएकाले बहुमतीय प्रक्रियाका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिएको बताउनुभयो ।

फोरम(लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले सहमतिको प्रयासका लागि आजसम्म भइरहेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउनुभयो । सहमतिका लागि सोमबार अपराह्न २ बजे बस्ने संसद्को बैठकअघिसम्म सम्भावना रहेकाले त्यसका लागि प्रयास गरिने नेताहरुले बताउनुभएको छ । रासस

Saturday, July 30, 2016

पत्रकार सापकोटाद्वारा लिखित पुस्तक ‘कहर’ बजारमा

जस्केलाबाट पसेर राजनीतिमा चलखेलः सञ्चार मन्त्री राई

नारायणगोपाल स्मृति प्रतिष्ठानलाई सहयोग

सुरुङ्गा (झापा), १५ साउन । शिक्षासेवी जयनारायण ढुङ्गानाले नारायणगोपाल स्मृति प्रतिष्ठान झापालाई रु एक लाख ११ हजार १११ प्रदान गर्नुभएको छ ।

आज आयोजित एक समारोहबीच उहाँले सो प्रतिष्ठानलाई आर्थिक सहयोग गर्नुभएको हो ।

प्रतिष्ठानको कोष वृद्धिका लागि उहाँले उक्त रकम प्रदान गर्नुभएको प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीले बताउनुभयो । कोषमा अहिलेसम्म रु सात लाखभन्दा बढी रकम जम्मा रहेको प्रतिष्ठानका उपाध्यक्ष भीष्म उप्रेतीले बताउनुभयो । रासस

अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ – पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, १५ साउन । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वाेपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

गाउँ सेवा परिवार, बिर्घा, स्याङ्जाको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो–“त्यसका लागि हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ ।”

परिवर्तित अवस्थामा राजनीतिलाई सही बाटोमा डो¥याउन संविधान कार्यान्वयनको सवालमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सबै राजनीतिक दलले साझा धारणा बनाउन गम्भीरतापूर्वक जुट्नु जरुरी छ– पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो ।

सरकारले दैनिक प्रशासनको कामभन्दा संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउने काममा जुट्न आवश्यक छ भन्दै उहाँले सधैँको जोड घटाउको राजनीतिमा अल्झँदा सङ्क्रमण लम्बिन गएको र मुलुकमा परनिर्भरता बढ्दै गएकोतर्फ सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “सबैभन्दा प्राथमिकता र बोझिलो जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो, यो जिम्मेवारीको भारी नबिसाई अरु जिम्मेवारी लिन मिल्दैन, भावी पुस्ताले शिक्षा, रोजगारी र समृद्धि खोजेका छन्, अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ ।”

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले फरक राजनीतिक सिद्धान्त, आस्था र भूमिका रहे पनि आत्मनिर्भर, स्वाधीनता र मुलुकको सार्वभौमको रक्षाका लागि सबै राजनीतिक दलहरु एकढिक्का हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा विश्वमै मेहनती र इमान्दारीको पहिचान बोकेका नेपाली अब कदापि गरिब हुन सक्दैन, हाम्रा हिमाल र जलस्रोतको समुचित उपयोग गर्न आवश्यक छ ।”

सांसद कमल पङ्गेनीले प्रजातन्त्रलाई सुसंस्कृत तुल्याउन तथा अनतामा अधिकार पु¥याउने सन्दर्भमा विगतमा भएका आन्दोलनमा कालीगण्डकी क्षेत्रका जनताले निकै ठूलो योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

पूर्व सांसद शङ्करप्रसाद पाण्डेयले आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि खर्चनु परेको इतिहासको चर्चा गर्दै अब हाम्रो प्राथमिकता आर्थिक समृद्धि र अग्रगमन नै हुनुपर्छ भन्नुभयो ।

गाउँ सेवा परिवार बिर्घा स्याङ्जाका अध्यक्ष खड्गबहादुर राना, महासचिव डा धनबहादुर रानामगर, पूर्वसचिव एवम् संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेय, स्थानीय शिक्षासेवी खगराज पाण्डेय, नेपाली काँग्रेसकी नेत्री सरस्वती तिवारीलगायतले मुलुकको राजनीतिक तथा निजामती प्रशासन सेवामा बिर्घाको ठूलो योगदान रहेको बताउनुभयो ।

सो अवसरमा संस्थाले प्रकाशन गरेको ‘कालीगण्डकी’ नामक स्मारिक पूर्वअध्यक्ष रेग्मीले लोकापर्ण गर्नुभयो । राजेन्द्रप्रसाद पाण्डे सम्पादक रहनुभएको उक्त स्मारिकामा समग्र कालीगण्डकी क्षेत्रको महत्व, परिचयका साथै शिक्षा, लोकतन्त्र, आयुर्वेदिक उपचारलगायत लोकसेवाको तयारीका लागि उपयोगी हुने ज्ञानमञ्चसमेत समेटिएको छ ।

स्याङ्जाको बिर्घामा जन्मथलो भई राजधानीमा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका समाजसेवी एवम् जुझारु युवाले स्थापना गरेको उक्त संस्थाले बिर्घा क्षेत्रमा शैक्षिक, सामाजिक, स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । रासस

उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी

बौद्धनाथ समितिको बजेट रु सोह्र करोड ९१ लाख

काठमाडौँ, १५ साउन । बौद्धनाथ क्षेत्र विकास समितिले चालु आवका लागि रू १६ करोड ९१ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी शेर्पाले चालु खर्चतर्फ करिब रू तीन करोड ८८ लाख तथा पुँजीगत खर्चतर्फ करिब रू १३ करोड दुई लाख खर्चको बजेट सार्वजनिक गर्नुभयो । समितिले गत वर्ष रू ११ करोड ६२ लाखको बजेट सार्वजनिक गरेको थियो ।
बौद्धनाथको चैत्य मर्मत तथा त्यस क्षेत्रका अन्य सम्पदाको सम्भार तथा संरक्षणका लागि खर्च बढेको छ । स्वदेशी तथा विदेशी दातृ सङ्घसंस्थाबाट समेत सहयोग प्राप्त हुने अनुमान गरिएको छ ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइलगायतले बौद्धदर्शन मानवकल्याणका लागि उपयोगी रहेकाले यसलाई जनस्तरमा फैलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी, साहित्यकार तथा कर्मचारीलाईसम्मान गरिएको थियो । रासस

आठौँ पटकको घोषणालाई महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग

काठमाडौँ, १५ साउन । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ ।

यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका उम्मेदवारले यही साउन २३ देखि २५ मै महाधिवेशन गरिनुपर्नेमा जोड दिनुभयो । विसं २०६४ असोजमा नेपाली काँग्रेस एक भएदेखि भ्रातृ संंस्था नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । दश वर्षदेखि महाधिवेशन नहुँदा करिब २५ जनाले नेतृत्वको दाबी गरेका छन् । अध्यक्ष दाबी गर्ने धेरै नेता ३५ वर्ष उमेर पार गरेका छन् । लामो समय महाधिवेशन नहुँदा धेरैको दाबी नेतृत्वमा भएको अध्यक्ष पदका उम्मेदवारहरुको भनाइ छ ।

अध्यक्ष पदका दावेदार नैनसिंह महरले कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भएपछि माविबाट विद्यार्थी राजनीतिलाई अलग राख्ने प्रस्ताव आफूले महाधिवेशनमा राख्ने बताउनुभयो । “माध्यमिक तहमा विद्यार्थी राजनीति गरिँदा शैक्षिक क्षेत्रमा विकृति फैलिएको छ, यसैले यो तहबाट विद्यार्थी राजनीति अन्त्य गरौँ भन्ने प्रस्ताव अन्य विद्यार्थी सङ्गठनसँग नेविसङ्घले राख्नुपर्छ, सबै विद्यार्थी सङ्गठन मिलेर नैतिकतामा आधारित मानवतावादी शिक्षाको मुद्दा उठाउनुपर्छ”–उहाँले भन्नुभयो ।

अध्यक्ष पदका अर्का उम्मेदवार नीलकण्ठ रिजालले हालसम्म नेविसङ्घका १७ अध्यक्षमध्ये ११ जना ‘टीकेशैली’बाट आएको जनाउँदै लोकतान्त्रिक सङ्गठनको महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने माग गर्नुभयो । “नेविसङ्घका सबै तहमा दुई वर्षमा अधिवेशन नभए त्यो समिति स्वतः खारेज हुने व्यवस्था वैधानिक रुपमा गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

नेता क्षितिज भण्डारीले महाधिवेशन आउन एक हप्ता मात्र बाँकी हुँदा पनि देशभरबाट आउने विद्यार्थीका लागि केन्द्रीय समितिले अहिलेसम्म खाने बस्ने व्यवस्था नगरेर महाधिवेशन नहुने सन्देश दिएको आरोप लगाउनुभयो ।

अध्यक्षको दाबी गर्दै आउनुभएका सरोज थापाले ११ जिल्लाका समानान्तर जिल्ला समितिलाई मिलाएर महाधिवेशनमा जानुपर्ने बताउनुभयो । कार्यक्रममा दीपक भट्टराई, आनन्द त्रिपाठी र रामप्रसाद अधिकारीले यस पटक महाधिवेशन सफल बनाएर सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताउनुभयो ।

यसैबीच केही दिनदेखि विधिवत् महाधिवेशनको माग गर्दै आएको कुन्दनराज काफ्ले समूहले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेको छ ।

अधिवेशन भएका भनी घोषणा गरिएका ६४ जिल्लामध्ये १३ मा विधिवत् अधिवेशन नगरिएको, ११ जिल्ला र काठमाडौँ उपत्यकाका क्याम्पसमा अधिवेशन नै नगरी महाधिवेशन गर्न लागिएकाले विधि पु¥याएर महाधिवेशनको माग गर्दै बाग्लुङका गणेश सापकोटा र रामेछापका रत्नहरि ढुङ्गेल आमरण अनशनमा बस्नुभएको नेता बलदेव तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

आफ्ना समर्थकका साथमा डा केसी सडकमा

काठमाडाँै, १५ साउन । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ ।
स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए ।

प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाउनुभएको थियो । उहाँका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छाँै’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेकोे सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताउनुभयो । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहँुच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी गराउनुभयो ।

उहाँले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाउनुभयो ।

सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताउनुभयो

उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड

काठमाडौँ, १५ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गरी विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।

पे्रसिडेन्टियल बिजिनेस स्कुलले आज आयोजना गरेको दीक्षान्त समारोहमा उपराष्ट्रपति पुनले स्वदेशमा अध्ययन सकेका जनशक्तिले आफ्नो डिग्रीलाई थन्काएर खाडी मुलुकमा जान बाध्य रहेको अहिलेका अवस्थामा समयसापेक्ष उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिलाई स्वदेशमा उपयोग गर्नुपर्ने बताउँदै देशभित्र केही गर्छु भन्ने जनशक्तिलाई राज्यले संरक्षण गर्नुपर्छ भन्नुभयो ।

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले देशमा व्यवस्थापनको अभावले विकासनिर्माणका काम अगााडि बढ्न नसकेको बताउनुभयो ।

स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले स्वदेशमा अन्तर्राष्ट्रिय तहको गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो भने निर्देशक कल्पना गुरुङले उच्च शिक्षालाई सहज, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन सरकारले नीतिगत तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

स्कुलका विद्यार्थी अनुज श्रेष्ठ, नीलम केसी, केकी अधिकारी, कल्याण अधिकारी र सन्जोग राईले विद्यालयका गतिविधि तथा सिकेका अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरिएको थियो । रासस

एक सय तीन मेगावाट विद्युत् प्रणाली बाहिर

साताको सेयर बजार : रु नौ अर्ब बढीको कारोबार

तामा र फलाम खानी पुरिँदै

बेनी (म्याग्दी), १५ साउन । यहाँ रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् ।
लुलाङ र रुमको ढुङ्गा खानी बाहेक ताकम, गुर्जा, कुइने, ओखरबोटलगायत गाविसमा रहेका खानी पुरिन थालेका हुन् । खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गर्थे । छन्त्याल जातिमा धातु भएको ठाउँ सुँघेर पनि थाहा पाउन सक्ने क्षमता भएको ताकमका चन्द्रबहादुर छन्त्यालले बताउनुभयो ।

खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तीन दशकयता खानी बन्द भएको नेपाल छन्त्याल सङ्घ, म्याग्दीका पूर्वअध्यक्ष मुकुन्द छन्त्यालले बताउनुभयो ।
जङ्गलका बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् । खानी खनेर जीविकोपार्जन गर्दै आएका विभिन्न ठाउँमा बसोबास गर्ने छन्त्याल समुदाय परम्परागत पेसाबाट विस्थापित छन् । गुर्जा, ताकम, कुइनेमङ्गल, मल्कबाङ र भकिम्ली गाविसमा बसोबास गर्ने छन्त्याल समुदाय खानी उत्खनन गर्ने परम्परागत पेसाबाट पूर्ण रुपमा विस्थापित छन् ।

गत वर्षको जिल्ला परिषद्ले खानीको संरक्षण र उपभोग गर्न पहल गर्ने निर्णय गरे पनि सो विषयमा कुनै पहल हुन सकेको छैन । स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने छन्त्याल समुदायका अगुवा बताउँछन् । रासस

अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइँदै

उनन्साठी करोड भन्दा बढी राजस्व सङ्कलन

पोखरा, १५ साउन । यातायात व्यवस्था कार्यालय गण्डकीले आव २०७२÷७३ को अन्त्यसम्ममा रु ५९ करोड १७ लाख १० हजार १०८ राजस्व सङ्कलन गरेको छ ।

सो कार्यालयले अघिल्लो वर्ष रु ५३ करोड १८ लाख ६१ हजार ८९५ राजस्व सङ्कलन गरेको थियो ।

सो अवधिमा कार्यालयले सवारी साधनकरमा रु ४८ करोड ५८ लाख ६२ हजार १८५, सडक निर्माण तथा सम्भार दस्तुरमा रु ६ करोड ५९ लाख ४६ हजार २३६, सवारी इजाजतकरमा रु दुई करोड २४ लाख ८८ हजार २९३ र यातायात क्षेत्रको आम्दानीमा रु एक करोड ७४ लाख १३ हजार ३९४ राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी डम्बरबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै कार्यालयमा हालसम्म मोटरसाइकल एक लाख ८ हजार ७५९ र अन्य ठूला तथा साना सवारी साधन ३५ हजार ७३५ दर्ता भएका छन् । रासस

‘संविधानले महिलाको अधिकार सुनिश्चित गरेको छ’

काठमाडौँ, १५ साउन । नयाँ बनेको संविधानले महिलाको हक अधिकारलाई सुनिश्चित गरेको सरोकारवालाले बताएका छन् ।
सभ्य समाज महिला समूह टोखा– ११ को आयोजनामा आज यहाँ भएकोे उद्घोषण कला सम्बन्धी सात दिने तालिमको समापनमा नेपाली काँग्रेसकी सांसद कौशर शाहले संविधानले महिलाको हक अधिकारलाई सुनिश्चित गरेकाले मुलुकको उच्च पदमा महिला पुगेको बताउनुभयो ।

उहाँले महिला चुलो चौकाको काममा मात्र सीमित हुने गरेको वर्तमान समयमा यस्ता तालिमले महिलाको व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले महिलालाई दिने विभिन्न तालिमले नेपाली समाजलाई क्रमशः रुपान्तरण गर्दै लगेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमलाई अन्य ठाउँमा पनि लैजाने उल्लेख गर्नु भयो ।

समूहका सल्लाहकार ओमकृष्ण विमली, समूहकी अध्यक्ष गुनु केसीले आधा आकास ढाक्ने महिलाको नेतृत्व विकास गर्न सकेमात्र मुलुकको विकास हुने भन्दै यस्ता कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा टोखा नगरपालिका– ११ का विभिन्न आमा समूहबाट तालिम लिएका २५ महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस

द्वन्द्वपीडित समुदाय जीविकोपार्जन तर्फ उन्मुख

नवलपरासी, १५ साउन । महिला तथा बालबालिका कार्यालय नवलपरासीले द्वन्द्वपीडित समुदायलाई प्रोत्साहन गर्न रकम वितरण गरेको छ ।

जिल्लाका सोमनीका द्वन्द्वपीडित महिला समुदायलाई जीविकोपार्जन उन्मुख गराउन तालिम दिएर प्रतिव्यक्ति तीन हजार ५०० दरले आर्थिक सहयोग समेत गरेको छ ।

कार्यालय प्रमुख उर्भरा लुइँटेलले सोमरीका २० जना द्वन्द्वपीडित महिलालाई तरकारीखेती तालिम दिएर मल बीउको प्रोत्साहनसहित सो रकम सहयोग गरेको बताउनुभयो ।

सो लक्षित महिलालाई रु ७० हजार नगद रकम हस्तान्तरण गरिएको थियो । तालिम पाएका द्वन्द्वपीडित महिलाले अहिले आधुनिक खेती सुरु गरेको र जसबाट उनीहरु जीविकोपार्जन तर्फ उन्मुख भएको कार्यालय प्रमुख लुइँटेलको भनाइ छ ।

तालिम पाए पश्चात् आफूहरु आधुनिक कृर्षि तर्फ उन्मुख भई सो आम्दानीले घरपरिवारको खर्चसमेत चलाउँदै आएको मनकामना महिला विकास समितिकी सचिव पिलादेवी चौधरीले बताउनुभयो ।

चौधरीले भन्नुभयो ‘तालिम पाएर आफूहरु व्यावसायिक कृर्षि तर्फ आकर्षित बनेका छाँै । नवलपरासीको सोमनी गाविस– ७ बरगदवा गाउँमा २०६२ साल वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासी द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् ।

सो गाउँमा तत्कालीन (माओवादी) कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए । रासस

त्रिपक्षीय समिति गठन

काठमाडौँ, १५ साउन । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा बसेको बैठकबारे जानकारी गराउँदै काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीन तीन गरी नौ जनाको समिति गठन गरिएको जानकारी दिनुभयो । समिति सदस्यको नामावली बेलुकासम्म टुङ्गो लगाइने छ ।

“नयाँ प्रधानमन्त्रीको निर्वाचनमा मधेसी मोर्चाको समर्थन जुटाउन आज छलफलको आयोजना गरिएको हो, खासगरी काँग्रेस र माओवादी गठबन्धनबीच भएको सातबुँदे सहमतिको पहिलो बुँदामा केन्द्रित भएर छलफल भयो”,उहाँले भन्नुभयो । सातबुँदे सहमतिको पहिलो बुँदामा मधेसी समुदायको माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न सकिने उल्लेख छ ।
छलफलका क्रममा मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएका खण्डमा मात्र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आफूहरुले मतदान गर्ने अडान लिएको नेता निधिले जानकारी दिनुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चा सरकारमा जाने वा नजाने भन्नेबारे प्रश्न उठेकै छैन भन्नुभयो ।
सहमतीय सरकारका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आइतबार सकिँदै छ । बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता महेश आचार्य, माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा तथा मोर्चाका तर्फबाट ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत नेता सहभागी हुनुहुन्थ्यो । रासस

संरचना फेरिएपनि उमाविमा पुरानै पाठ्यक्रम

पहिराले पाँचघर बगायो

तम्घास (गुल्मी), १५ साउन । अविरल वर्षासँगै आएको पहिराले दर्लिङ गाविसमा पाँच घर बगाएको छ ।
गत दुई दिनदेखि गएको लगातार गएको पहिराले उक्त गाविसका ५५ भन्दा बढी घरधुरी विस्थापित बनेका छन् । दर्लिङ गाविस– ३, दुनाम नजिकै रहेको कसिलाबजस्थित दलित बस्तीका पाँच घर पहिराले बगाएको हो ।
पहिराका कारण भिरालो स्थानमा रहेको उक्त दलित बस्तीका ३५ घर समेत उच्च जोखिममा परेको बताइएको छ । पहिराले विस्थापित स्थानीयवासीले गोठ, आफन्त तथा छिमेकीका घरमा आश्रय लिइरहेका छन् ।

उक्त गाविसका अधिकांश घरको भित्रबाट पानी निस्कने, चर्कने र घरै बाङ्गो भएका कारण मानिसहरु विस्थापित भएको दर्लिङ गाविस सचिव गोपाल सेनले बताउनुभयो । अहिले पनि उक्त स्थानमा पानी परेको हुँदा पहिराको उच्च जोखिम कायमै रहेको बताइएको छ ।

उक्त गाविस सदरमुकाम तम्घासबाट ५० किमी टाढा अत्यन्तै दुर्गममा रहेका कारण उनीहरुलाई तत्काल राहत सामग्री पु¥याउन समस्या परेको बताइएको छ । रासस

‘सहमतिको सरकार बन्ने सम्भावना न्यून’

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताउनुभएको छ ।

गोरखा समाज सेवा केन्द्र काठमाडौँको ११ औँ साधारणसभा एवम् आठौँ अधिवेशनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको बताउँदै भन्नुभयो, “प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ ।”

नेता श्रेष्ठले संविधान कार्यान्वयन, सङ्घीय, प्रान्तीय, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रियाको काम र भूकम्पको पुनःनिर्माणको कामलाई पूरा गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानु मुख्य चुनौती भएको उल्लेख गर्नुभयो ।

उहाँले गोरखाभित्रका पर्यटकीय क्षेत्रको पहिचान, जलविद्युत् आयोजनाको निर्माण, कृषि क्षेत्रको विकास, जडीबुटीको पहिचान गर ेमात्र त्यहाँको विकास गर्न सकिने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले अहिले मुलुकमा भएको परिवर्तनमा गोरखाको गुणात्मक भूमिका रहेको बताउनुभयो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्रेष्ठले नेपालको संस्कृति र इतिहासको गौरवशाली भूमि गोरखा रहेकाले यसको प्रचारप्रसार गर्नु जरुरी छ भन्नुभयोे ।

केन्द्रका अध्यक्ष भाष्करकुमार श्रेष्ठ, काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, नेकपा (एमाले)का नेता वाचस्पति देवकोटा, राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, वरिष्ठ स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटालगायतले धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको गोरखाको विकासका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउनुएको थियो ।

केन्द्रले नेपालको संस्कृति र इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका संस्कृतिविद् डा जगमान गुरुङ, प्राज्ञ दिनेशराज पन्त र पत्रकार सुशील अर्याललाई सम्मान गरेको थियो ।

गोरखामा जन्मिएर काठमाडौँमा कर्मथलो बनाउँदै आएका व्यक्तिको पहलमा २०५२ सालमा केन्द्रको स्थापना भएको थियो । केन्द्रले गोरखाली दाजुभाइ दिदीबहिनीबीच भाइचाराको सम्बन्ध स्थापित गर्नाका साथै गोरखाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । रासस

‘गोठदेखि ओठसम्म स्वच्छ दूध’ पु-याउने अभियान

बाढीबाट मृत्यु

हुम्ला, १५ साउन । दक्षिणी भेगमा पर्ने मदन गाविस– ९ का ३९ वर्षीय असौजे नेपालीको दाउरा ल्याउने क्रममा लोपाटा खोलामा आएको बाढीमा परी आज मृत्यु भएको छ ।
सो बाढीबाट एक गाई समेत मरेको सोही गाविसका कुम्ब बुढाले फोनबाट जानकारी गराउनुभयो । यसैबीच कालिका गाविसमा अज्ञात रोगबाट १६ गाईवस्तु मरेका छन् । छ । रासस

एकपक्षीय रुपमा सीमामा बाँध निर्माण गर्नु गलत हो– डा भट्टराई

धनगढी, १५ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले भारतीय पक्षाबट सीमा क्षेत्रमा एकपक्षीय रुपमा बाँध निर्माण गर्ने कार्य गलत भएको बताउनुभएको छ ।
पब्लिक मिडियाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले
सीमामा उत्पन्न हुने समस्याको कूटनीतिक तवरमा दुवै देशले दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने बताउँदै भन्नुभयो—“दुवै पक्षका जनतालाई भिडाउने काम गर्नुहुँदैन ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको क्रियाकलापका बारेमा सोधिएको प्रश्नमा उहाँले यो विषय संसद्मा प्रवेश भइसकेकाले सार्वभौम संसद्ले प्रक्रिया अघि बढाई टुङ्ग्याउनुपर्ने बताउनुभयो । रासस

संविधान कार्यान्वयनका लागि एमाले आवश्यक छ–थापा

भक्तपुर, १५ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि नेकपा(एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
खरिपाटीमा नेपाली काँग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा सांसद थापाले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक छ भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको विभिन्न सम्झौता अब बन्ने सरकारले कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । नेपालले भारत र चीनसँग बराबरको सम्बन्ध राख्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– “नेपालले दुवै देशको हस्तक्षेप सहँदैन, नेपाल चीन र भारतको राजनीतिसँग खेल्दैन, नेपालको राजनीतिसँग पनि खेल्न दिदैनाँै ।”

उहाँले आगामी चैत अन्तिममा स्थानीय निर्वाचन र जेठमा प्रान्तको निर्वाचन हुनुपर्नेमा जोड दिँदै जेठमा प्रान्तको निर्वाचन हुन नसके एकै पटक प्रान्त र केन्द्रको निर्वाचन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्दीय सदस्य एवम् नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौलाले विपक्षी दल, साना दल र मधेसकेन्द्रित दललाई आफूसँगै ल्याएर काँग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सांसद रामेश्वर ढुङ्गेलले जबसम्म स्थानीय निकायको निर्वाचन हुँदैन, तबसम्म संविधान कार्यान्वयन हुँदैन भन्नुभयो ।
कार्यक्रममा काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेसका पूर्वजिल्ला अध्यक्ष गणेश चक्रधर, काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री, र काँग्रेस नगरकोट नगर समितिका सभापति यादव अधिकारीले भक्तपुरलाई एउटै उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

तरकारी र फलफूलबाट राजस्व सङ्कलन

रामपुर (पाल्पा), १५ साउन । सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाले आर्थिक वर्ष २०७२÷०७३ मा विभिन्न बिरुवा तथा ताजा फलफूल र तरकारीका बेर्ना तरकारीको बीउ बिक्रीबाट जम्मा १५ लाख ७१ हजार ३४३ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

आम्दानी अन्तर्गत फलफूलका बिरुवा बिक्रीबाट ६ लाख ४९ हजार ९२० रुपैयाँ ताजा फलफूल बिक्रीबाट दुई लाख ९ हजार ९५२ रुपैयाँ, तरकारीको बीउ बिक्रीबाट दुई लाख ९७ हजार ७१४ र तरकारीका बेर्ना बिक्रीबाट एक लाख ९८ हजार ५२९ रुपैयाँ सङ्कलन गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७१÷०७२ मा १८ लाख ७२ हजार ५२ रुपैयाँ आम्दानी सङ्कलन गरेकोमा यसवर्ष लामो खडेरी परेका कारण फलफूल तरकारीका बीउ र ताजा तरकारीको उत्पादन घट्न गएकाले गतवर्ष भन्दा यो वर्षमा तीन लाख ७ ९० रुपैयाँले आम्दानीमा कमी आएको सुन्तला जात फलफूल विकास केन्द्रका सूचना अधिकारी रावेन्द्रप्रताप यादवले जानकारी दिनुभयो ।

त्यसैगरी सिमी, मुला, काउली, प्याज, रायो सागलगायतका ६९४ किलो तरकारीका बीउ, विभिन्न जातका गरी २२ हजार ७० वटा फलफूलका बिरुवा र तीन लाख ३६ हजारवटा विभिन्न जातका तरकारीका बेर्ना बिक्री गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा पाल्पा, स्याङजा, गुल्मी र अर्घाखाँचीमा गरी चारपटक सञ्चालन गरेको किसान तालिमबाट १३६ जना किसान लाभान्वित भएका छन् । रासस

न्यायाधीश नियुक्ति प्रक्रिया आइतबार टुङ्गिदै

काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुङ्गिने भएको छ ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्नेछ । गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरे पनि निर्णय भने गरेको थिएन । शुक्रबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगन भएको थियो ।

यसैगरी आइतबारको बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतका बारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ । उजुरी अध्ययनपछि उक्त समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ थाल्ने बताइएको छ । रासस

सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts