Friday, July 1, 2016

न्यून चापीय रेखाको सक्रियताले मुलुकभर वर्षा

काठमाडौँ, १७ असार । मनसुन न्यून चापीय रेखाको प्रभावसँगै उच्च वायुमण्डलमा न्यून चापीय रेखा पश्चिमतर्पm केन्द्रित भएका कारण देशका अधिकांश भागमा बद्ली हुनुका साथै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यून चापीय रेखाको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको गति केही बढेकाले मुलुकभर बद्लीसँगै वर्षात् भएको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन न्यून चापीय रेखा पश्चिम नेपालमा नजिक छ, भारतको पञ्जाब, हरियाणा र छत्तिसगढ हुँदै बङ्गालको खाडीसम्म गएको छ, उक्त मनसुन रेखा नेपालको पश्चिम क्षेत्रसँग केही नजिक हुँदा बढी वर्षात् भएको छ ।

आइतबारबाट केही कम हुने भए पनि मनसुन न्यून चापीय रेखा पुनःउत्तरतर्फ आउने भएकाले मनसुन केही दिन सक्रिय हुने मौसमविद् रिमालको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज सबैभन्दा बढी भैरहवामा ९२, डडेलधुरामा ८२, सिमरामा ६९, धनगढीमा ३९ र सबैभन्दा कम जुम्ला र वीरेन्द्रनगरमा ३–३ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षात् भएको छ । यो वर्षको मनसुन सुरु भएयता बिहीबार सबैभन्दा धेरै ९५ प्रतिशत वर्षात् भएको थियो ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २८.४ र न्यूनतम २१ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts