रत्ननगर (चितवन), १ साउन । चितवनमा आजदेखि ‘तेस्रो चितवन च्याम्पियनसिप फुटवल कप–२०७३’ सुरु भएको छ ।
एभरेष्ट क्लब, बसेनी, चितवनको आयोजनामा जुनियर प्रहरी शिक्षालय भरतपुरमा सुरु भएको प्रतियोगिताको आज शिक्षालयका समादेशक डिआइजी रणबहादुर चन्दले उद्घाटन गर्नुभयो । चन्दले खेलकुदले युवालाई सकारात्मक परिवर्तनमा सहयोग पुग्ने मन्तव्यका क्रममा बताउनुभयो ।
आज भएको उद्घाटन खेलमा गैँडाकोट फुटबल क्लब विजयी भएको छ । निर्धारित समयमा प्रतिस्पर्धी टिम जु क्लब जुगेडीसँग १–१ गोल भएपछि पेनाल्टी सुट आउटमा ३ काविरुद्ध ४ गोल गर्दै गैँडाकोट विजयी भएको हो । साउन १ गतेदेखि १८ गतेसम्म हुने खेलमा २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु एक लाख २१ हजार १२१ र ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेले नगद रु ५५ हजार ५५५ र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो । सबै खेल जुनियर प्रहरी शिक्षालय भरतपुरमा हुने भएका छन् ।
नवलपरासी र गोरखाको टिमले समेत खेलकुदमा भाग लिएका छन् । खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजारसहित पुरस्कृत गरिने अध्यक्ष अशोक देवकोटाले बताउनुभयो । उत्कृष्ट गोलकर्ता, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने भएको हो ।
क्लबका अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा चितवन प्रहरी प्रमुख वसन्त कुँवर, खेलकुद विकास समिति चितवनका अध्यक्ष गङ्गा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो । रासस
––––––––
No related posts.
No comments:
Post a Comment