ज्यामरुङ (धादिङ), १७ असार । भारत सरकारको सहयोगमा रु एक करोड ७८ लाखको लागतमा चामभञ्ज्याङ खानेपानी परियोजना निर्माण हुने भएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले सो परियोजनाको शिलान्यास गर्नुभयो । परियोजनाबाट करिब १५९ घरधुरीले लाभ पाउनेछन् ।
राजदूत रायले नेपाल–भारत सम्बन्ध अब विकासका माध्यमबाट अघि बढ्ने बताउनुभयो । पत्रकार ऋषि धमलाको पहलमा सो परियोजना बन्ने भएको हो । स्थानीयवासीले राजदूत रायलाई गोलाभञ्ज्याङ, सिम्लेदेखि टोड्के भञ्ज्याङसम्मको बाटो कालोपत्र गर्न र भूकम्पले क्षतिग्रस्त शङ्कादेवी उमाविको पुनःनिर्माणका लागि सघाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा (एमाले)का नेता राजेन्द्रप्रसाद पाण्डेले खानेपानी परियोजनामा भारतले सहयोग गरेकामा खुसी व्यक्त गर्नुभयो । एमालेका सांसद गुरुप्रसाद बुर्लाकोटी, राप्रपाका सांसद पर्शुराम तामाङ, पूर्वसभासद्् रामनाथ अधिकारी, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले पनि खानेपानी परियोजना बन्ने भएकामा प्रशन्नता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment