काठमाडौँ, १८ असार । पपगायक एड्रियन प्रधान र उहाँका साथी काभ्रेपलाञ्चोकको होक्सेमा रहेको जनता उमावि पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन लागिपरेका छन् ।
यसैक्रममा उनीहरुले आज काठमाडौँमा साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै सहयोग जुटाए । सो क्रममा एड्रियनले ‘यो मन त मेरा नेपाली हो’, ‘परेलीमा लुकाइराख न’, ‘नभन मेरो माया लाग्छभनि’, ‘गुराँसै फूल्यो वनैमा’, ‘पिंजडा’लगायत आफ्ना चर्चित गीत गाएका थिए । सयौँको सङ्ख्यामा रहेका दर्शक उनले गीतसँगै झुमेका थिए ।
‘मिरमिरे युथ सोसाइटी’को प्रस्तुतिमा भएको ‘शान्ति फेस्टा २०१६’ नामक सो कार्यक्रममा एड्रियन र उहाँका साथीका साथै अनिल शाही, मिलन अमात्य र रोज मोक्तानले गीत गाए भने एउटा खुट्टाको भरमा पनि नृत्य गर्ने कलाकार निलम ढुङ्गानाले आफ्नो प्रस्तुति दिनुभएको थियो ।
‘मिरमिरे शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नारा रहेको कार्यक्रमले गत वर्षको वैशाखमा गएको भूकम्पले ध्वस्त भएको सो उच्च माविको भवन निर्माण गर्नेछ । सो विद्यालयका ५६० विद्यार्थी टहरामा पढ्न बाध्य भएकाले भवन पुनःनिर्माण गर्न यस्तो कार्यक्रम गरिएको मिरमिरे युथ क्लबका अध्यक्ष राजीव थापाले बताउनुभयो ।
आज रु ३०० टिकट काटेर भए पनि ‘कन्सर्ट’ हेर्न आएका दर्शकको उत्साहतिर लक्षित गर्दै उहाँले आफूहरु लक्ष्यमा सफल हुने बताउनुभयो । रासस
No comments:
Post a Comment